Paschim Express
सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा आज अष्टमी मेला

डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष जस्तै यसवर्ष पनि महाअष्टमीको मेला लागेको छ । बिहीबार उग्रतारा भगवती मेलामा बिहानैदेखि भक्तजन पुगेका थिए ।

डडेल्धुरा सदरमुकामबाट पाँच किलोमिटर टाढा अमरगढी नगरपालिका वडा नम्बर ८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित शक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लागेको मेलामा दर्शनार्थीहरु पूजा आराधना गर्न पुग्ने गरेका छन् ।

अष्टमी मेलामा राँगा, बोका काटिने तथा व्यापार व्यवसाय एवम् आफन्तजनसँगको भेटघाट मौकाको रुपमा प्रख्यात रहेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए ।

किम्बदन्तीअनुसार करिब २५ सय वर्ष पहिले लटाउली गाउँबस्ने साँकी जातिका स्थानीयले बारीमा हलो जोत्दै गर्दा हलोको फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन मिलेको थियो । त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update