Paschim Express
बडादसैँको आठौँ दिन आज महाअष्टमी, आजै महानवमी पनि

काठमाडौं । बडादसैँको आठौँ दिन आज देशभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आजको दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने चलन छ । 

आज दसैँघर तथा जमरा कोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नुका साथै फलामबाट बनाइएका हातहतियार र सवारीसाधनलाई सफासुग्घर गरी बलिसहित पूजा गर्ने प्रचलन छ । 

पशुबलि नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् । 
बडादसैँको आठौँ दिन माता पार्वतीको रूप मानिने महागौरीको विशेष पूजा गरिन्छ । पौणाणिक कथाअनुसार उनले भगवान् शिवलाई पतिका रूपमा पाउन कठोर तपस्या गरेकी थिइन् । 
यसवर्ष तिथिअनुसार महाअष्टमी र महानवमी पर्व एकै दिन परेकाले नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको पनि पूजा गरिँदै छ । यस दिन दसैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना गरी दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने प्रचलनसमेत छ । 

महानवमीका अवसरमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजा र निसानपूजा पनि गरिन्छ भने हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जंगी निसाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update