Paschim Express
डडेल्धुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

डडेल्धुरा । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैँडीका लागि छुटेको यात्रुवाहक बस डडेल्धुराको अमरगढी नगरपालिका-७  खसरेखानमा दुर्घटनामा परेको छ । गएराति पवनदुत यातायात प्रालिको ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

दुर्घटनामा एक पुरुष, २ महिला र एक नाबालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले बताए । मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको उनले बताए । 

दुर्घटनामा घाइते हुनेमा पुचौर्डी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, वडा नं. ८ का ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक बिरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी रहेका छन् । यसैगरी, पुर्चौडी नगरपालिकाकै वडा नं. १० का दामोदर महरा, धनबहादुर महरा, कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, वडा नं. ५ की ६५ वर्षीय धनमती साउँद, डडेल्धुरा आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा घाइते भएका छन् । 

घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ०५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update