Paschim Express
डडेल्धुरा बस दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

धनगढी । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । घटनास्थलमा आज बिहान थप एक जनाको शव फेला परेसंगै मृतकको संख्या पाँच पुगेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बलमे बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको पनि शव घटनास्थलबाट निकालिएको बताए । उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान मात्रै फेला परेको हो । 

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति साढे १२ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका अन्य चार जनाको पनि यसअघि नै सनाखत भइसकेको छ । पुर्चौडी–३ बस्ने ४५ वर्षीय जैमती बोहरा, दुई दिनका नाबालक, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको पनि घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिए । दुर्घटनामा पुर्चौंडी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नम्बर ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका–५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका–५ की ६५ वर्षीया धनमती साउँद, पुर्चौंडी–८ का ४२ वर्षीय पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नं।७ का २८ वर्षीय नवराज रतोकी, २० वर्षीय सुरेन्द्र रतोकी, वडा नं। १० का दामोदर महरा र धनबहादुर महरा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

बस सडकबाट झण्डै तीन सय मिटर खसेर पोखरा–बेलापुर सडकमा परेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटनामा परी अन्य पनि बेपत्ता भएको आशंकमा प्रहरीले खोजी कार्य जारी राखेको छ । 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update