Paschim Express
डडेल्धुरामा श्रीमती, छोरा र सासूसंगै अस्ताए सहदेव, बुवाआमा उहिल्यै गुमाएका थिए

डडेल्धुरा । डडेल्धुरामा मंगलबार राती बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो । मृतकमध्ये चार थिए, बैतडीको पुर्चौंडी नगरपालिका–३ तोलीगाउँकी २० वर्षीया कमला बोहरा, २२ वर्षीय सहदेव बोहरा, ४५ वर्षीया जैमती बोहरा र एक नाबालक । नाबालक कमलाका छोरा हुन् भने सहदेव श्रीमान र जैमती आमा हुन् ।

कमलाले सोमबार मात्रै छोरालाई जन्म दिएकी थिइन् । धनगढीको सेती प्रादेशिक अस्पतालमा पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएपछि कमलासंगै उनका श्रीमान सहदेव र उनकी आमा जैमती दंग थिए । सहदेव र जैमती पनि २४ असोजमा कमलासंगै धनगढी पुगेका थिए ।

आमा र छोराको स्वास्थ्यमा कुनै समस्या नभएपछि अस्पतालले मंगलबार नै बिदा दिएको थियो । उनीहरुले सोही दिन घर फर्किनेका लागि अत्तरियामा कञ्चनपुरबाट पुर्चाैडीका लागि छुटेको रात्रिबसमा बसेका थिए ।

उनीहरू सवार पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटनामा प¥यो । दुर्घटनामा परी कमला, उनका नाबालक छोरा, श्रीमान सहदेव र आमा जैमतीको घटनास्थलमै मृत्यु भएको हो ।
छोरा जन्मिएको खुसी उनीहरुले दुई दिनसम्म पनि बाड्न पाएनन् ।

डडेल्धुरा अस्पतालमा भेटिएका पुर्चाैडी नगरपालिका ३ का वडा अध्यक्ष खगेन्द्र बोहराका अनुसार सहदेवका बुवा र आमाको यसअघि नै मृत्यु भइसकेको छ । ‘सहदेवका दुई दाई छन्, तर उनीहरु पनि भारतमा मजदुरीका लागि गएका छन्,’ तोलीगाउँ नै घर भएका वडा अध्यक्ष बोहराले भने, ‘एकजनालाई बोलाएका छौं । हामी पोष्टमार्टमपछि चारै जनाको शव लगेर पुर्चाैडी लाग्छौं ।’

वडा अध्यक्ष बोहराका अनुसार सहदेव पनि भारतमै रोजगारी गर्दै आएका थिए । गर्भवती श्रीमतीको स्याहार गर्न र दसैँ मनाउनका लागि मात्रै उनी केही समय अगाडि घर पुगेका थिए ।
कमला गर्भवती भएपछि नियमति रुपमा गर्भजाँच भने पुर्चाैडी नगरपालिका–३ मा रहेको न्वादेउ स्वास्थ्य चौकीमा गर्दै आएकी थिइन् । उक्त स्वास्थ्य चौकीमा बर्थीङ सेन्टर पनि थियो ।

तर सुरक्षित प्रसुती सेवाका लागि उनी २२ वर्षीया श्रीमान सहदेव र ४५ वर्षीया आमा जैमतीसंगै २४ गते धनगढी पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार मंगलबार राति भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

बोहरा परिवारका चारसंगै पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको पनि मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १२ जनालाई भने डडेल्धुरा अस्पतालले थप उपचारका लागि धनगढी रेफर गरिसकेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update