Paschim Express
डडेल्धुरामा मनाइयो प्रहरी दिवस, इन्सपेक्टर बमसहित २२ जना पुरस्कृत

डडेल्धुरा । डडेल्धुरामा पनि ६९औं प्रहरी दिवस मनाइएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख अतिथ्यतामा ‘साइबर सुरक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ डडेल्धुरामा प्रहरी दिवस मनाइएको हो ।

प्रमुख अतिथि खड्का, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने लगायत अतिथिहरूले प्रहरी स्मारकमा पुष्पहार र पुष्पगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

यस्तै सो अवसरमा डडेल्धुरामा कार्यरत २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । उत्कृष्ट अनुसन्धानतर्फ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमसहित ६ जना प्रहरी पुरस्कृत भएका छन् । असोज २५ गते अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया आरती भट्टराईको हत्या घटनाको अनुसन्धानमा उत्कृष्ट काम गरेबापत उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको हो ।

डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार कार्यालय व्यवस्थापनतर्फ प्रहरी सहायक निरीक्षक रामबहादुर धानुकसहित १२ जना पुरस्कृत भएका छन् । राजश्व संकलनतर्फ प्रहरी सहायक निरीक्षक डम्बरबहादुर कार्की, सामुदायिक प्रहरीतर्फ प्रहरी नायब निरीक्षक चन्द्रसिंह धामीसहित दुईजना र ट्राफिक व्यवस्थापनतर्फ उत्कृष्ट काम गरेवाफत प्रहरी सहायक हवल्दार दीपकबहादुर बलायर पुरस्कृत भएका डिएसपी श्रेष्ठले बताए ।

यसअघि बिहान पनि डडेल्धुरामा प्रहरी दिवस मनाइएको थियो  । उक्त कार्यक्रममा अमर प्रहरीका परिवारलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update