Paschim Express
डडेल्धुरामा वडाध्यक्षका छोराद्वारा फेसबुकमा नाबालिगको चरित्रहत्या, ५ वर्षे कैदबाट बच्न यस्तो जुक्ति

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाका एक वडाअध्यक्षका छोराले नाबालिगको अश्लील भिडियो सार्वजनिक गरेर चरित्रहत्या गरेका छन् । उनले आफ्नै प्रेमिकाको नग्न भिडियो सार्वजनिक गरेका हुन् ।

गत चैतदेखि प्रेम सम्बन्धमा रहेकोमा वडाअध्यक्षका छोराले ती नाबालिकालाई नग्न भिडियो बनाएर आफूलाई पठाउन आग्रह गरेका थिए । त्यसपछि ती नाबालिकाले बनाएर पठाएको भिडियो ती युवकले सामाजिक सञ्जाल फेसबुकमा भाइरल गरिदिए । उक्त भिडियो धेरैको फेसबुक म्यासेन्जरसम्म पुगेको थियो । जसका कारण नाबालिक र उनको परिवार तनावमा आएको थियो ।

त्यसपछि बालिकाको परिवारले अदालत जानेसम्मको तयारीमा गरेको थियो । त्यो भेउ पाएपछि  वडाअध्यक्षको परिवारले  कानुनको आँखा टाल्न एउटा हत्कण्डा अपनाएको  छ । ती पीडकका परिवारले नाबालिकाका परिवारलाई फकाएर उमेर पुगेपछि दुवैको बिहे गरिदिने बाचा गरेका      छन् ।

नेपाल सरकारको विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद ९ को ४७ को १ अनुसार  विद्युतीय सञ्चार माध्यममार्फत अरुको चरित्र हत्या गर्ने व्यक्तिलाई एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । सोही सजायको भागेदार हुनबाट बच्न वडाअध्यक्षका छोराले उक्त उपाय अपनाएका  हुन् ।

ती पीडित नाबालिगका बुवाले पनि पीडक पक्षसँग एकखाले सहमती भएको बताए । ‘म निवेदन दिन जिल्ला पुगेको थिए । केटाका बुवा(वडाध्यक्ष) पनि जिल्ला आएर गल्ती स्विकार गर्दै ‘‘अहिले दुवै नाबालक छन् । उमेर पुगेपछि बिहे गराइदिउला भनेर भन्नुभयो’’ ।’

तर वडाअध्यक्षले भने त्यस्तो कुनै सहमती नभएको बताएका छन् । ‘गल्ती दुवैले गरेका हुन् । अब के सहमती हुने हो  ? त्यस्तो सहमती गर्न मिल्छ र ?’ भन्दै उनले प्रश्न गरे ।

प्रहरी भने त्यस्तो संवेदनशील केसमा सहमती नहुने बताउँछ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुमबहादुर नायकले उक्त सहमतीको बारेमा आफूहरुलाई जानकारी नभएको बताए । ‘पीडित परिवारले निवेदन दिने कुरा थियो । बुधबार आउँछौ भन्नुभएको थियो । तर उहाँहरु आउनु भएन’ उनले भने । 

(सामाजिक संंवेदनशीलतालाई मध्यनजर गर्दै पीडक र पीडितको परिचय गोप्य राखिएको छ ।)

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update