Paschim Express
बैतडीमा अटो दुर्घटना: घाइते एकजनाको मृत्यु

बैतडी: बैतडीमा अटो दुर्घटनामा परी घाइते भएका चार जनामध्ये एकजनाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ की ४५ बर्षीया बसन्ती भनिने हरिना जोशीको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

दुर्घटनामा घाइते भएकी जोशीलाई जिल्ला अस्पताल बैतडीबाट धनगढी रेफर गरिएको थियो। धनगढी लैजाने क्रममा दशरथचन्द राजमार्गअन्तर्गत पाटन–खोड्पे सडकखण्डमा शुक्रबार साँझ ६ बजे उनको मृत्यु भएको हो।

शुक्रबार दिउँसो साढे १२ बजेतिर महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सुपप्र ०१००१६०७० नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

सिल्लेगडाबाट खोचलेकतर्फ जाँदै गरेको अटो सडकबाट एकसय मिटर तल खस्दा घाइते भएकामध्ये दोगडाकेदार गाउँपालिका–२ की २५ वर्षीया पार्वती जोशीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। उनी गर्भवतीसमेत रहेको खुलेको छ।

श्रीकोट स्वास्थ्यचौकी गर्भजाँचका लागि जाने क्रममा अटो दुर्घटनामा परेर उनी घाइते भएकी हुन्। यस्तै दुर्घटनामा परेर घाइते भएका पुर्चौंडी नगरपालिका–९ का २० बर्षीय हिरा सार्की जिल्ला अस्पताल बैतडीमा उपचार गराएर घर फर्किसकेका प्रहरी निरीक्षक ढुंगानाले बताए।

यस्तै दुर्घटनामा घाइते भएका अटो धनी दोगडाकेदार गाउँपालिका –२ का २५ बर्षीय राजेन्द्र भाटको अवस्था पनि सामान्य रहेको छ। अटो चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का २२ बर्षीय उमेश साउँद र अटो धनी भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update