Paschim Express
बैतडीकी किशोरी १० दिनदेखि छिन् बेपत्ता, हवल्दार पक्राउ गरेर के गर्दैछ प्रहरी ?

डडेल्धुरा । २५ असोजमा बैतडीको पञ्चेश्वर गाउँपालिका-२ को महाकाली प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीमाथि कुटपिट भयो । जोशीलाई दाम्लोले बाँधेर स्थानीय बासिन्दाले कुटपिट गरेका थिए । बैतडी प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका हवल्दार जोशीको जिल्ला अस्पतालमा उपचार नै गरिएको थियो । 

उनीमाथि डिम्बरकी साढे १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोप थियो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार, ती किशोरी २५ असोजको बिहान पाँच बजेको समयमा घरबाट निस्केकी थिइन् । ‘एका बिहानै पानी ल्याउँछु भन्दै ती किशोरी घरबाट निस्केकी थिइन्,’ प्रहरी निरीक्षक ढुंगानाले भने, ‘सोही समयदेखि ती किशोरी बेपत्ता भएको परिवारका सदस्यले बताउँदै आएका छन् ।’ 

सोही दिन दिउँसो हवल्दार जोशीलाई नियन्त्रणमा लिएर स्थानीय बासिन्दाले कुटपिट गरेका हुन् । किशोरी बेपत्ता भएको चार दिनपछि उनका बुवाले किटानी जाहेरी दिएको प्रहरी निरीक्षक ढुंगानाले बताए । ‘शुक्रबार बिहान बेपत्ता भएकी किशोरीका आफन्तले मंगलबार जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरी हवल्दार जोशीले नै बेपत्ता पारेको भन्दै किटानी जाहेरी दिएका थिए,’ प्रहरी निरीक्षक ढुंगानाले भने, ‘अहिले हवल्दार जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छौँ ।’

उनका अनुसार किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता पारेको पीडित परिवारको आरोप छ । प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्वीरसहितको विवरणसमेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन् । यता प्रहरीको नियन्त्रणमा रहेका हवल्दार जोशीले भने किशोरीलाई बेपत्ता आफूले नपारेको बयान दिएका छन् ।
‘२५ असोजको बिहान पानी ल्याउन जाँदा ती किशोरीसँग मेरो भेट भएको थियो,’ प्रहरी निरीक्षक ढुंगानाका अनुसार हवल्दार जोशीले प्रहरीको सोधपुछका क्रममा भनेका छन्, ‘ती किशोरीले आफूहरूको सम्बन्धका विषयमा परिवारलाई जानकारी भइसकेको र सोही कारणले तनाव भएको बताएकी थिइन् । मैले आफू विवाहित भएको र व्यवस्थापन गर्न केही दिन समय लाग्ने बताएको थिएँ । त्यसपछि ती किशोरी पानी ल्याउन गएकी हुन् । मेरो भेट भएको छैन ।’

जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले चार दिनको म्याद थप गरेर हवल्दार जोशीमाथि अनुसन्धान भइरहेको बताए । १० दिनदेखि बेपत्ता किशोरीको पनि प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले खोजी गरिरहेको डीएसपी मिश्रले बताए । डिम्बर क्षेत्र नेपाल र भारतको सीमा छुट्याउने महाकाली नदीको नजिकै छ । महाकाली किनारमा डिम्बर क्षेत्रका स्थानीयको खेत छ भने खेतछेउमा बस्ती छ । सोही बस्तीमै महाकाली प्रहरी चौकी छ । सीमा क्षेत्र भएकाले ती किशोरीलाई भारततर्फ बेपत्ता पारिएको प्रहरी आशंका छ । 

तर, भारतमा भने नेपाल प्रहरीको टोलीले खोजी कार्य अगाडि बढाउन नसकेको जनाएको छ । ‘भारतीय क्षेत्रमा पनि हामीले किशोरीको खोजी कार्य अगाडि बढाउन खोजेका हौँ,’ बैतडीका प्रहरी प्रवक्ता ढुंगानले भने, ‘तर, त्यो प्रभावकारी रूपमा हुन सकेको छैन ।’

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update