Paschim Express
डडेल्धुरामा वन कार्यालयको मोटरसाइकल कसले जलायो ?

डडेलधुरा । डडेल्धुराको परशुराम सब-डिभिजन वन कार्यालयको मोटरसाइकलमा आगजनी गरिएको छ ।परशुरामधाम सब-डिभिजन वन कार्यालयका प्रमुख ईश्वरीसिंह बोहरा र सुरेश खाती सवार सुप प्र ००४–००१ ब ००१९ नम्बर प्लेटको सरकारी मोटरसाइकल पार्किङ गरेर राखिएको अवस्थामा जलाइएको हो ।

मोटरसाइकल जलाएको आशङ्कामा स्थानीय ४० वर्षीय धनबहादुर चन्दलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । इलाका प्रहरी कार्यालय जोगबुडाका इन्चार्ज प्रहरी निरीक्षक सुरज रोकायाका अनुसार मोटरसाइकल परिगाउँस्थित चन्दको घरमा राखेर वनका कर्मचारीहरू वडा नम्बर ३ को सिमल्टामा फिल्डको काम गर्न गएका थिए । सोही समयमा मोटरसाइकलमा आगजनी गरिएको हो । 

सशस्त्र प्रहरीका भूतपूर्व जवान चन्दले मदिरा सेवन गरेर मोटरसाइकल जलाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको उनले बताए । आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएको छ । 

आगजनी गरिएको मोटरसाइकलसहित पक्राउ परेका चन्दलाई जिल्ला प्रहरी कार्यालय डडेलधुरा पठाइएको प्रहरी निरीक्षक रोकायाले बताए । जिल्ला प्रहरी कार्यालय डडेलधुराले अभियुक्त चन्दउपर सरकारी सम्पत्तिमा आगजनी सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update