Paschim Express
बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीमा कार्यरत महिला कर्मचारीलाई महिनावारी बिदा

बैतडी । बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीले महिला कर्मचारीहरुलाई महिनावारी भएको समयमा बिदा दिने निर्णय गरेको छ ।

स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए । महिनावारी भएको समयमा महिलाहरुलाई आरामको आवश्यकता पर्ने भएकाले महिला कर्मचारीहरुलाई बिदाको व्यवस्था मिलाएको उनले बताए ।

स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले अरु बेला शनिवार समेत बिदा पाउने स्थिती नरहेकाले महिला कर्मचारीहरुलाई महिनावारी भएको समयमा बिदा दिने निर्णय गरिएको उनले बताए । महिनावारी भएको समयमा कतिपय महिलाहरुलाई पेट दुख्ने लगायतका समस्याहरु देखापर्ने र यो अवस्थामा आरामको आवश्यकता हुने भएकाले महिनावारी भएको समयमा बिदा दिने निर्णय गरिएको हो ।

यो निर्णयले स्वास्थ्यचौकीमा कार्यरत महिला स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सहज हुने स्वास्थ्यचौकीले जनाएको छ । पञ्चेश्वर स्वास्थ्यचौकीमा ८ जना स्वाथ्यकर्मी तथा कर्मचारीमध्ये ६ जना महिला रहेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update