Paschim Express
सुदूरपश्चिममा स्वास्थ्य कार्यक्रमको एकीकृत समिक्षा सकियो

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको गत आर्थिक वर्षको स्वास्थ्य कार्यक्रमहरुको एकीकृत समिक्षा सकिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको समिक्षा गोष्ठीमा स्वास्थ्य क्षेत्रमा विद्यमान समस्या र चुनौतिका साथै आगामी दिनमा गर्नुपर्ने प्रयासहरुबारे छलफल भएको छ ।
समिक्षा गोष्ठीमा प्रस्तुत जिल्लागत स्वास्थ्य स्थितीको अवस्थामाथिको छलफलका क्रममा सहभागी स्वास्थ्य अधिकारी तथा विज्ञहरुले प्रदेशमा स्वास्थ्य सेवा सुधारका लागि थप परिश्रम आवश्यक रहेको  औल्याए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका पूर्वनिर्देशक डाक्टर गुणराज अवस्थी देशको स्वास्थ्य अवस्था सुधारोन्मुख रहे पनि सुदूरपश्चिम प्रदेशमा अझै कमजोर रहेको बताए । उनका अनुसार मातृ सुरक्षा र नवजात शिशु स्याहार कार्यक्रमलाई प्रभावकारी बनाउनु आवश्यक रहेको छ । प्रदेशका नवजात शिशु मृत्यूदर अझै पनि उच्च रहेको उनकाे भनाई छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणि पाण्डेयले स्वास्थ्य सेवा क्षेत्रका तथ्यांकहरुका आधारमा प्रदेशमा स्वास्थ्य अवस्था कमजोर रहेको देखिएको बताए । स्वास्थ्य क्षेत्रमा पूर्वाधार विस्तारको तुलनामा स्वास्थ्य सूचकहरु कमजोर रहेको उनकाे भनाई छ ।

सचिव पाण्डेयले स्वास्थ्य क्षेत्र सुधारका लागि जनशक्ति व्यवस्थापन हुनु अपरिहार्य रहेको बताए । सुदूरपश्चिम प्रदेशमा अझै पनि दरवन्दि भन्दा ४५ प्रतिशत कर्मचारी अभाव रहेको उनको भनाई छ ।

प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले पनि सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रको अवस्था कमजोर रहेको स्वीकारे । उनले आफुहरु सरकारमा आउँदा बजेट सून्यताको अवस्था रहेको र हतारमा बजेट ल्याउनु परेका कारण चाहेजस्तो गर्न नसकिएको बताए ।

सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले विभिन्न समस्याका बाबजुद सुदूरपश्चिमका कार्यरत स्वास्थ्य कर्मचारीले उल्लेख्य काम गरेको बताइन् । उनले स्वास्थ्य कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण सृजना गर्न पनि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. खगेन्द्र बमकाे अध्यक्षतामा ३ दिन सम्म धनगढीमा संचालित समिक्षामा प्रदेशका नाै वटै जिल्लाका अस्पताल, स्वास्थ्य कार्यालय, आयुर्वेद औषधालय, आपुर्ति केन्द्र  तथा स्वास्थ्य क्षेत्रमा कार्यरत सामाजिक संस्था र दातृ निकायले आ आफ्नाे प्रस्तुती राखेका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update