Paschim Express
कैलालीको गेटा अस्पतालमा माइनर शल्यक्रिया सेवा सुरु

कैलाली । कैलालीस्थित गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । अस्पतालको आकस्मिक कक्षमा रहेको शल्यकक्षमा सोमबार पहिलो शल्यक्रिया गरिएको हो ।

अस्पतालमा कार्यरत शल्यचिकित्सक डा शंकर अधिकारीको टोलीले सोमबार एक जना बिरामीको माइनर शल्यक्रिया गरेको हो। बिरामीको लाइपोमाको शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा विप्लव सापकोटाले जानकारी दिए । 

'माइनर शल्यक्रियाबाट सेवा सुरु गरेका छौं,' उनले भने, 'अब क्रमश: अन्य शल्यक्रियाहरु पनि गर्दै जानेछौं ।' उनले अस्पतालले आकस्मिक सेवा तिहारपछि सञ्चालनमा ल्याउने र त्यसपछि पाँच वटा मेजर शल्यकक्ष र ३० शय्याको आइसीयू समेत सञ्चालनमा ल्याउने जानकारी दिए ।

पहिलो शल्यक्रिया राजाराम नाम गरेका व्यक्तिको गरिएको हो । शल्यक्रिया गर्ने टोलीमा डा अधिकारीसहित एनेस्थेसियोलोजिष्ट डा आशिष तिवारी, ओटी नर्स रोशनी शाही, आरती भण्डारी र शर्मिला चौधरी र हेल्पर रोशनी चौधरी थिए ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गेटामा सेवा विस्तार गर्दै अगाडि बढ्न निर्देशन दिएपछि अस्पतालले उपलब्ध स्रोत र साधनको प्रयोग गर्दै सेवा थप गर्दै अगाडि बढेको निर्देशक डा सापकोटाले जानकारी दिए ।

अस्पतालमा एक महिना अघि स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम सेवा सुरु भएको थियो । अस्पतालले सोमबार र बिहीबार उक्त सेवा दिने गरी कार्यतालिका बनाएको छ । रेडियोलोजिष्ट डा होमप्रसाद पन्तले मेमोग्राम सेवा दिइरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update