Paschim Express
टीकापुर नगरपालिकामा प्लाष्टिकका माला विक्रि वितरणमा रोक

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले तिहारका समयमा प्लाष्टिकजन्य फूलमाला प्रयोगमा निषेध गरेको छ । सोमबार एक सूचना जारी गर्दै नगरपालिकाले स्वदेशी फूलका मालालाई प्रोत्साहन गर्न प्लाष्टिकजन्य फूलमाला प्रयोग निधेष गरेको जनाएको हो ।

सूचनामा पालिकाले चालु आर्थिक वर्षमा प्लाष्टिकजन्य सामग्रीको न्यूनिकरण गर्न भारतबाट भित्रिने प्लाष्टिकका माला आयात तथा विक्रिवितरणमा रोक लगाउने निति लिएको बताएको छ । त्यसको सट्टा स्वदेशी उत्पादन फुलका मालालाई प्रोत्साहन गर्ने नगरपालिकाले निति लिएको सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाको सूचनालाई अटेर गरे नियमानुसार कारबाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दमनसिंह चौधरीले आउँदै गरेको दिपावली तथा छठपर्वमा टीकापुरभित्र कसैले प्लाष्टिकजन्य फूलका माला बिक्री बितरण गरेको पाइएमा कारबाही गर्ने जानकारी दिए ।

नगरपालिकाले प्लाष्टिकका माला बिक्रीमा रोक लगाएपछि स्थानीय पुष्प व्यवसायी पनि खुसी भएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update