Paschim Express
अमरगढी किल्लालाई मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै एकजुट हौंः सांसद खड्का

डडेल्धुरा ।  सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले डडेल्धुराको अमरगढी किल्लाको संरक्षण तथा प्रवद्र्धनमा बजेट अभाव नहुने बताएकी छिन् । बिहीबार किल्ला भित्रै आयोजना गरिएको बृहत छलफल कार्यक्रममा बोल्दै उनले किल्लाको विकासका लागि आफू सधै लाग्ने बताएकी हुन् । 

उनले अमरगढी किल्लालाई डडेल्धुराको मुख्य पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न एकजुुट भएर लाग्न आवश्यक रहेको औल्याइन् ।  ‘यहाँका बुद्धिजिवी, राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र नागरिक समाज सबैले किल्ला हाम्रो भनेर एकजुुट हुन जरुरी छ’ उनले भनिन्, ‘प्रदेशको पहिलो सभामा मैले अमरगढी किल्लाको संरक्षण र प्रवद्र्धनका लागि आग्रह गरेकी छु ।’

यस्तै अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले किल्लाको संरक्षणका लागि बजेट माग गर्न मन्त्रालय सँगै अन्य निकायमा पुुगेको बताए । उनले काठमाडौँ महानगरलाई किल्लाको संरक्षणका लागि ८ करोड बराबरको प्रस्तावना पेश गरको जानकारी गराए ।

किल्ला संरक्षण समितिका अध्यक्ष प्रविन जैरुले नेपाली सेना बस्दा किल्ला सरसफाई र संरक्षण हुने तर छोडिदिँदा किल्ला जीर्ण भएको जिकिर गरे । उनले तीन तहका सरकार र समितिले समेत चासो नराख्दा किल्ला ओझेलमा परेको समेत बताए । 

नेपाली सेनाको रणबम गण दह व्यारेक र अमरगढी नगरपालिकाको संयुक्त आयोजनामा बृहत छलफल कार्यक्रम भएको थियो । 

 
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update