धनगढी । डडेल्धुराको अमरगढी नगरपालिका-८ टाँटरकी ६६ वर्षीया जोगेनी दमाई लामो समयदेखि बिरामी थिइन् । दमले थलिएकी दमाईलाई पछिल्लोपटक निमोनिया पनि भयो । कमजोर आर्थिक अवस्थाका कारण स्तरीय स्वास्थ्य सेवा भने उनले पाउन सकेकी थिइनन् ।
`स्वास्थ्यमा जटिल समस्या आएपछि उपचारका लागि आमालाई सेती प्रादेशिक अस्पताल धनगढी पुगाएका थियौं,´ जोगेनीका छोरा राजेशले भने, `तर, त्यहाँ आइसियुमा राखेर उपचार नगर्दा थप समस्या भएको थियो । सोही समयमा सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काज्यू भेट्न आउनुभयो । उहाँले सहजीकरण गरेपछि आमाको आइसियूमा उपचार सुरु भएको थियो ।´
आइसियूमा उपचार सुरु भए पनि जोगेनीको भने उपचारकै क्रममा मृत्यु भयो । मृत्युपछि फेरि एकपटक आफन्तलाई भेट्न सेती प्रादेशिक अस्पताल पुगिन राज्यमन्त्री खड्का । `मृत्युपछि पनि हामीलाई डडेल्धुरासम्म शव ल्याउन सहज थिएन,´ राजेशले भने, `राज्यमन्त्रीज्यूले आफ्नै व्यक्तिगत खर्चमा हाम्रा लागि गाडी खोजिदिनु भयो । थप बाटो खर्छ पनि उहाँले नै दिनुभयो ।´
परशुराम नगरपालिका- ४ का धनिराम टमटालाई सर्पले टोक्यो । उनको ५ दिनसम्म सेती प्रादेशिक अस्पतालमा उपचार भयो । तर, चिकित्सकले उनलाई बचाउन सकेनन् । धनीरामका परिवारले आर्थिक समस्याका कारण उनकाे शव उठाउन सकेका थिएनन् । अस्पताल परिसरमै भावविह्वल अवस्थामा रहेकाे धनीरामका परिवारलाई भेट्न राज्यमन्त्री खड्का पुगिन । मृतककाे परिवारले अस्पताललाई तिर्नुपर्ने रकम र शव बाहन सेवा आफ्नो व्यक्तिगत तर्फबाट आर्थिक सहयोग गरिन । त्यसपछि मात्रै धनिरामको शव परशुराम पुगाइएको थियो ।
रुखबाट लडेर गम्भीर घाइते भएकी नवदुर्गा गाउँपालिका-४ बेलापुरकी देवादेवी बिष्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भयो । उनको परिवारलाई पनि शव घरसम्म पुगाउन राज्यमन्त्री खड्काले आफ्नो व्यक्तिगत तर्फबाट शव बाहनको व्यवस्था गरि दिइन ।
खड्का सामाजिक विकास राज्यमन्त्री भएको साढे दुई महिना मात्रै पुगेको छ । यो अवधिमा सुदूरपश्चिमका कयौं बिरामीको उपचारमा राज्यमन्त्री खड्काले सहजीकरण गरेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उपचारका क्रममा मृत्यु भएका व्यक्तिका परिवालाई पनि राज्यमन्त्री खड्काले सहयोग गरेकी छिन् । `कोही बिरामी समस्यामा परेको र उपचारमा समस्या भइरहेको जानकारी पाउने बित्तीय राज्यमन्त्रीज्यूले अग्रसरता देखाहाल्नु हुन्छ,´ सचिवालयले भन्यो ।
सेती र महाकाली प्रादेशिक अस्पताल, विभिन्न जिल्लामा रहेका जिल्ला अस्पताल र जिल्लास्तरीय अस्पताल सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय मातहतका हुन् । `बिरामीलाई भेट्ने र अस्पतालकि अनुगमन गर्ने कार्यलाई मैले संगै लगेकी छु,´ राज्यमन्त्री खड्काले भनिन्, `सरकारी मात्र नभएर निजी अस्पतालमा पनि पुगेकी छु । चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीको उपचारमा विशेष ध्यान दिन आग्रह गर्दै आएकी छु ।´ राज्यमन्त्री खड्काले निजी अस्पतालमा उपचाररत बिरामीको सहुलियतमा उपचार गरिदिन पनि आग्रह गर्दै आएकी छिन् ।