डडेल्धुरा । परशुराम प्रिमियर लिगको उपाधि सयपत्री युवा क्लबले जितेको छ । डडेल्धुरा जिल्लास्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता अर्थात् परशुराम प्रिमियर लिगको फाइनलमा परशुराम नगरपालिका वडा नम्बर ६ लाई १७ रनले पराजित गर्दै सयपत्री युवा क्लब च्याम्पियन बनेको हो ।
फाइनलमा सयपत्रीले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन बनायो । १ सय २९ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको वडा नम्बर ६ १९ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै १ सय ११ रनमा समेटियो । विजेता भएको सयपत्री युवा क्लबले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो भएको वडा नम्बर ६ ले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
जोगबुढा स्पाेर्टस क्लबको आयोजना तथा परशुराम नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताका विजेता खेलाडीलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले प्रदेश सरकारले खेलकुद तथा अन्य क्षेत्रमा पनि युवाहरूलाई सहयाेग गर्ने बताइन् । उनले परशुरामको रंग मैदानलाई पूर्णता दुने गरि प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाइन् । `युवा नगर प्रमुख भएका कारण परशुराम नगरपालिकाले खेलकुद क्षेत्रमा उत्कृष्ट फड्काे मारेकाे छ,´ उनले भनिन्, `खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयाेग गर्नेछ ।´
कार्यक्रमका विशिष्ट अतिथि परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले नगरस्तरिय महिला क्रिकेट प्रतियोगिता आयाेजना गर्ने प्रतिबद्धता जनाए ।