धनगढी । कैलालीमा एक पुरुषको जुवा खालबाट भाग्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१२ का ४५ वर्षीय करन बिकको भीरबाट लडेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त इन्चार्ज प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार जुवाखालबाट भाग्ने क्रममा बिकको भीरबाट लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘घटना शुक्रबार राति १० देखि ११ बजेको हो,’ उनले भने, ‘स्थानीय १० जना प्रकाश साउँदको किराना पसलमा जुवा खेलिरहेका रहेछन् । सोही क्रममा प्रहरीको टोली देखेपछि सबै जना भागेका थिए ।’
प्रहरी निरीक्षक भण्डारीका अनुसार प्रहरी देखेर भाग्ने क्रममा बिक लडेको कुरा अनुसन्धानबाट खुल्न आएको छ । ‘शनिबार उनी वडा नम्बर १२ कै कोल्मोडास्थित छोट्यास कुलोमा मृत फेला परेका छन्,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले प्रारम्भिक अनुसन्धानबाट लडेर मृत्यु भएको खुलेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । ‘बिकका परिवारले लडेर मृत्यु भएको भन्दै जाहेरी दिएका छन्,’ उनले भने, ‘मृत्युको अन्य कुनै कारण भए प्रहरीले अनुसन्धान गर्छ ।’