डडेल्धुरा। नेपाल कृषिप्रधान देश भनेर चिनिन्छ । नेपालमा सक्रिय रुपमा कृषिमा कूल १ करोड ३२ लाख ११ हजार ३ सय ४९ जनसंख्या संलग्न रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङकमा छ । त्यसमध्ये महिलाको संख्या ६८ लाख ६३ हजार ४ सय १२ र पुरुषको संख्या ६३ लाख ४७ हजार ९३६ छ ।
कृषिमा यन्त्रीकरण गर्ने क्रम पनि तिव्र गतिमा भइरहेको छ । तर कृषिका यन्त्र उपकरणहरु भने महिलामैत्री नभएको देखिएको छ । नेपाल सरकारका तीनै तहका सरकारले ५० प्रतिशत अनुदानमा वितरण गर्ने ट्याक्टर, थ्रेसर, फलामे हलो, पावर ट्रिलर जस्ता कृषियन्त्र पुरुषमैत्री रहेको विज्ञहरुको भनाइ छ ।
नेपालमा पाइने कृषियन्त्रहरु महिलामैत्री बनाउन सके यन्त्रको सदुपयोग हुने कृषि विज्ञ डा. दिलबहादुर बिष्टको भनाई छ । ‘महिलाहरुले निवेदन दिएर सरकारी निकायले कम्पनीलाई नै महिलामैत्री उपकरण उत्पादनका लागि माग गर्न सक्छन्’ डा. विष्टले भने, ‘महिलामैत्री उपकरण खन्न र जोत्नतिर कम भएका पक्कै हो । हाल नेपालमा मेनुफेक्चरिङ भएका कृषियन्त्रहरु पुरुष मैत्री छन् । यसलाई महिलामैत्री बनाउन सके उत्पादन लागत घट्नुका साथै यन्त्रहरु बढी उपयोग हुन्छ ।’
युवा र पुरुष रोजगारीका लागि भारत लगायतका तेस्रो मुलुकमा बस्ने भएकाले कृषि पेशमा महिलाको संलग्नता बढी भएको उनको भनाई छ ।
महिलाको सहजताका लागि महिलामैत्री यान्त्रीकरणमा जोड दिनुपर्ने महिला कृषक समुहकी कोषाध्यक्ष चन्द्र पालको माग छ । ।‘ठुला कृषियन्त्र भारी हुने भएकाले पहाडी क्षेत्रमा महिलालाई ती यन्त्र प्रयोग गर्न समस्या छ,’ उनले भनिन्, ‘सानो हाते ट्याक्टर जस्ता महिला मैत्री उपकरण वितरणमा सरकारी निकायले जोड दिनुपर्छ ।’
नेपालमा पछिल्लो समय कृषि यान्त्रीकरण बढ्दै गएको छ । कम जनशक्तिबाट धेरै र सहज तरिकाले कृषि कार्य गर्न सकिने भएकाले कृषियन्त्रको प्रयोग बढेको हो । तर, यी यन्त्र पुरुषमैत्री भएको विज्ञहरुको दाबी छ ।
डा.विष्टले सजिलो तरिकाले प्रयोग गर्न क्ने मिनीट्रिलर जस्ता साना औजार प्रवर्द्धन गर्न सुझाव दिएका छन् । नेपालमा बढी मात्रामा प्रयोग हुने स्प्रेयर तथा कृषि औजारका पार्टपूर्जा महँगो पर्ने भएकाले सो विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
देशभर कूल खेती गरिएको ३० लाख ९१ हजार हेक्टर जमिन रहेको सरकारी तथ्याङ्कमा छ । सो जमिनमध्ये २२ लाख १८ हजार ४ सय ९ हेक्टरमा कृषियन्त्र प्रयोग भइरहेको राष्ट्रिय कृषिगणना २०७८ मा उल्लेख छ ।
कृषि गणनाका अनुसार देशभरका ७ लाख २ हजार ७ सय ९८ परिवारले ५ लाख ९ हजार ८ सय २५ फलामे हलो प्रयोग गरेको पाइएको छ । यस्तै, देशभर जम्मा कृषकमध्ये ४ लाख ७१ हजार २ सय ६० परिवारले १ लाख १७ हजार ९ सय ९१ पावर ट्रिलर/मिनी ट्रिलर प्रयोग गरेको पाइएको छ ।
मुलुकभरका कृषकमध्ये १६ लाख ३८ हजार ७ सय ६२ परिवारले ५ लाख ८ हजार ४ सय ९२ वटा ट्याक्टर प्रयोग गरेको कृषि गणनामा उल्लेख छ । नेपालभर ४ लाख ८९ हजार ९ सय ५७ कृषक परिवारले सिँचाइका लागि स्यालो ट्युबवेल प्रयोग गर्छन् । देशभरका ३ लाख ३१ हजार ३ सय ५० किसानले सिँचाइका लागि २ लाख २८ हजार ७९ वटा डिप ट्युबवेल प्रयोग गरेको पाइएको छ ।
देशभर दुध दुहुने मेसिन प्रयोगकर्ता ३० हजार २५ छन् । यी प्रयोगकर्ताले ३ हजार ३ सय ८९ वटा मेसिन प्रयोग गरेको तथ्याङ्क छ ।
महिलामैत्री उपकरणका लागि सरकारी प्रयास के ?
नेपालमा तीन तहका विभिन्न कृषिसँग सम्बन्धित निकायले कृषियन्त्र उपकरणहरु २० देखि ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा स्थानीय तहका कृषि शाखाहरु, जिल्लाका कृषि ज्ञान केन्द्र, प्रदेशमा कृषि निर्देशनालय र भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रत्येक वर्ष आवेदन माग गरेर उपकरणहरु वितरण गर्ने गरेका छन् ।
महिलामैत्री यन्त्र उपकरणका लागि पहिले त सूचना नै नपाइने र पाइए पनि महिलामैत्री कृषि औजार पाउन समस्या रहेको कृषक जमुना पालको भनाई छ । ‘सूचना कहिले आउँछ थाहा हुँदैन । गत वर्ष वडाका महिला सदस्यले जानकारी दिएको थियो । आवेदन दिए ठूलो साईजको हाते ट्याक्टर लैजाने कुरा भयो’ उनले भनिन्, ‘बुहारी र म मात्र हो घरमा । श्रीमान् स्वर्गवास भइसकेका छन् । छोराहरु बाहिर छन् । ट्याक्टर कसले चलाउने ? ५० प्रतिशत भन्नाले करिब ३५ हजार दिनु पर्ने रहेछ । ल्याए पनि सडकबाट घरमा लाग्ने मान्छे भएन । सानो मिल्छ भने राख्थे । खन्नलाई समस्या छ ।’
डडेल्धुराको अमरगढी नगरपालिका डडेल्धुराले अहिलेसम्म ७ र ९ हर्ष पावरको मिलीटिलरहरु वितरण गरेको वडाअध्यक्ष नरबहादुर सार्कीले बताए ।
‘७ र ९ अलि बढी पावरको भएकाले महिलाले सञ्चालन गर्न नसकेको होला तर मोटरसाइकल चलाउने महिलाले त चलाएकै छन्’ उनले भने, ‘पावर बढी भएका भन्दा महिलालाई ५ हर्ष पावरको ठिक हुन्छ कि भन्ने सोचेको छौं । अब वडाले महिलाका लागि ५ हर्ष पावरको मिलीटिलरहरु नगरपालिकासँंग माग गर्नेछ । अहिले त त्यो प्रयास भएको छैन ।
अमरगढी त उदाहरण मात्र हो जिल्लाको अधिकांस स्थानीय तहले महिलामैत्री उपकरण वितरण गर्ने सकेको छैन । कुटानी पिसानीका लागि मिल तथा घाँस काट्ने मेसिन सानो खालका भने पालिका र जिल्लाको कृषि ज्ञान केन्द्रहरुले वितरण गर्ने गरेको छ । तर, चालु आर्थिक वर्षको बार्षिक कार्यक्रममा ज्ञान केन्द्रसँग यन्त्र उपकरण खरिदका लागि बजेट विनीयोजन नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख खेमराज पनेरुले बताए ।
‘यो वर्ष त बजेट छैन । मिलहरु सानो, कुटानी पिसानी, पानी दिने मेसीनहरु लगायतका महिलामैत्री समाग्री तथा उपकरण वितरण भएका छन्’ उनले भने, ‘खनजोतका लागि महिलालाई समस्या छ । तर मोटरसाइकसम्म चलाउन सक्ने महिलाले चलाउन सक्ने हाते ट्क्याटर वितरण गरेका छौँ । अबका दिनमा सानो खालेको पनि माग गर्ने छौँ ।’
अनुसन्धान नै भएको छैन
२०७८ को जनगणनाले देखाएको तथ्याङक अनुसार सुदूरपश्चिम प्रदेशको कृषि अनुसन्धान केन्द्र डोटीले यो समस्याबारे कुनै अनुसन्धान गरेर सरकारलाई सुझाव लिन सकेको छैन । अनुसन्धान केन्द्रमा कर्मचारी अभाव लगायतका कारणले धेरै विषयमा अध्ययन अनुसन्धान गर्ने नपाइएको कृषि अनुसन्धान केन्द्र डोटीका प्रमुख विष्णु प्रशाद पौडेलले बताए ।
कृषि क्षेत्रमा विभिन्न समस्या भएपनि प्रदेशको कृषि अनुसन्धान केन्दले अहिले बालीमा मात्र अनुसन्धान गरिरहेको उनले बताए । सुदपश्चिममा खाद्य सुरक्षा चुनौती थपिएकोप्रति सबै निकाय चिन्तीत हुनुपर्ने उनको धारणा छ ।
९ जिल्लाको ५१ हजार हेटर खेतीयोग्य जग्गामा न्यून मात्रै अर्थात् १ दानामा २ वा ३ दाना अन्न फल्ने गरेको २ वर्ष पहिले लिवर्ड र प्रदेश सरकारले गरेको अनुसन्धाले देखिएको कृषि अनुसन्धान केन्द्र डोटीका प्रमुख पौडेलले बताए ।