Paschim Express
सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबीच समझदारी

काठमाडौं । नेपालको सुदूरपश्‍चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धको समझदारीपत्र आदानप्रदान गरिएको छ ।

ललितपुरमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा आइतबार बिहान सुदूरपश्‍चिम विश्‍वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीका अध्यक्ष डा. ओ बोङ याङबीच पाँच बुँदे समझदारीपत्र आदानप्रदान गरिएको हो ।

शैक्षिक तथा प्राज्ञिक उन्‍नयनका लागि दुई विश्‍वविद्यालयबीच यो समझदारीपत्रमा हस्ताक्षर गरिएको सुदूरपश्‍चिम विश्‍वविद्यालयका उपकुलपति प्रा. डा. पन्तले जानकारी दिए ।

विश्‍वविद्यालयको फ्याकल्टी, प्राध्यापक र अनुसन्धानकर्ताहरू आदानप्रदान गर्ने, सुदूरपश्‍चिम विश्‍वविद्यालय र जोनबुक विश्‍वविद्यालयका विद्यार्थीहरू आदानप्रदान गर्ने, दुवै विश्वविद्यालयबीच शैक्षिक सामग्री तथा सूचना आदानप्रदान गर्ने, संयुक्तरुपमा अनुसन्धान सञ्चालन गर्ने, प्राज्ञिक बैठक तथा सेमिनारहरू आयोजना गर्ने पाँच बुँदे समझदारी भएको हो ।

सन् १९४७ मा स्थापना भएको जोनबुक विश्‍वविद्यालयका प्रा. डा. ह्याक योङ किमले सुदूरपश्चिम विश्‍वविद्यालयका उपकुलपतिसहित २१ जनाको विद्यावारिधिका लागि सुपरभाइजर गरेका छन् ।

समझदारीपत्र आदानप्रदान गर्दै उनले नेपाली विद्यार्थीहरूको अनुसन्धान कार्यमा सहयोग गर्ने औपचारिक समझदारी भएकोमा खुसी व्यक्त गरे ।

सन् २०१० मा स्थापना भएको सुदूरपश्‍चिम विश्वविद्यालयले पछिल्लो समय अनुसन्धान र अन्वेषणमा जोड दिँदै विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्राज्ञिक पहुँचका लागि काम गर्दै आएको  छ ।

नेपाल मटेरियल साइन्स सोसाइटीले आयोजना गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय सहआयोजकको रुपमा रहेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update