धनगढी । कैलालीको गेटामा चिकित्सा शिक्षाको अध्यापन र ६ सय शय्याको अस्पताल सञ्चालनका लागि ६ अर्ब बढीका संरचना तयार छन् । तर, त्यहाँ ५० शय्याको अस्पताल मात्रै सञ्चालनमा छ । मेडिकल शिक्षाको अध्यापन हुने कहिलेबाट निश्चित छैन ।
सुरुमा मेडिकल कलेज सञ्चालन गर्ने भनिए पनि पछि प्रतिष्ठानको संरचनामा सञ्चालन गर्नुपर्ने आवाज उठेको थियो । तर पछि प्रतिष्ठान पनि बेठीक हुने भन्दै मेडिकल विश्वविद्यालय स्थापनाको माग चर्को गरी उठेको थियो । ०७९ माघ २९ मा मन्त्रिपरिषद्ले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ । २०८० असोज १९ मा संसद्मा दर्ता भएको यो विधेयक राष्ट्रिय सभाले २०८० माघ १९ मा पारित गरेको थियो । कानुन बन्ने प्रक्रिया चलिरहेकै बेला प्रदेश सरकारका तर्फबाट भने छुट्टै पहल थालिएको छ ।
गेटामा तत्काल चिकित्सा शिक्षाको पठनपाठन गर्नका लागि सुदूरपश्चिमका अस्पताल संघ सरकारलाई हस्तान्तरण गर्न प्रदेश सरकार तयार भएको हो । सेती र महाकाली प्रादेशिक अस्पतालहरू हस्तान्तरण गर्न तयार रहेको प्रदेश सरकारले जनाएको छ । उक्त सहमति सहितको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार नै संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाइसकेको छ । सेती र महाकाली अस्पताललाई गेटामा गाभेर मेडिकल शिक्षा अध्यापनको तयारी भएको हो ।
चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षा पढाइ र अभ्यासका लागि कम्तीमा तीन सय शय्याको अस्पताल तीन वर्षसम्म सञ्चालन भएको हुनुपर्छ । सेती प्रादेशिक अस्पताललाई ०७९ साउनमा प्रदेश सरकारले दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । तर, कार्यान्वयन हुन सकेको छैन । प्रादेशिक अस्पताललाई सरकारको अनुमति ५० शय्याका लागि मात्र भए पनि २ सय ४२ शय्या सञ्चालनमा छन् ।