डडेल्धुरा । कञ्चनपुरमा ठूलो मात्रामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरका ३१ वर्षीय अमितकुमार वर्णवार र कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवाकी ४० वर्षीया सीतादेवी चौधरीलाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट एक सय १८ ग्राम तीन सय ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय त्रिभूवनबस्ती, लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट आइबिआरडीबाट खटिएको सयुक्त प्रहरी टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुलाई कञ्चनपुरको पुनरवास नगरपालिका–३ आइबिआरडीबाट पक्राउ गरिएको हो ।
प्रहरी टोली खटिएको समयमा उनीहरु दुबै जना आइबिआरडीमा बसिरहेका थिए । उनीहरुमाथि शंका लागेपछि चेकजाँच गर्दा अमितकुमारको साथबाट लागूऔषध बरामद गरिएको हो । त्यहाँ प्रहरी टोली खटिनुअघि लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरलाई भने सूचना प्राप्त भएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रविन्द्र केसीले यसलाई ठूलो सफलताका रुपमा हेरेका छन् । उनले ठूलो मात्रामा लागूऔषधसहित दुई जनालाई पक्राउ गर्न खटिएका प्रहरी अधिकारीलाई धन्यवाद दिएका छन् ।