Paschim Express
‘हाकिम’ नहुँदा अजयमेरु गाउँपालिकामा तनाव, कर्मचारीले पाएका छैनन् तलब

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आदेशलाई लत्याएको पाइएको छ । गत असार २४ गते मन्त्रालयले प्रमुख प्रकासकीय अधिकृत नभएका स्थानीय तहमा निमित्त तोक्दा ‘वरिष्ठ’ कर्मचारीलाई जिम्मेवारी दिनू भन्दै परिपत्र गरेको थियो ।

परिपत्रको बुँदा नम्बर (क) मा भनिएको छ, “स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्ने विषयमा एकरुपता कायम गर्न आवश्यक र जरुरी देखिन्छ । तसर्थ यस विषयको व्यवस्थापनका लागि मार्गदर्शक कानूनको रुपमा रहेको निजामती सेवा ऐन, २०४९ तथा ऐ. नियमावली, २०५० को नियम ४६ मा रहेको व्यवस्था बमोजिम स्थानीय तहमा कार्यरत स्थायी कर्मचारी मध्येबाट बरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिने व्यवस्था अनिवार्य रुपमा मिलाउनु हुन ।’’

तर, अजयमेरुमा भने गाउँपालिका जुनिएर शिक्षा शाखा अधिकृत लालबहादुर सेठीलाई जिम्मेवारी दिँदा कर्मचारीहरुले तनाव भोग्नुपरेको छ । गाउँपालिकामा उनीभन्दा वरिष्ठ चार जना छैठौं तहका अधिकृत छन् । 

सेठीलाई गत वर्ष निमित्त तोकिएको थियो । असारमा मन्त्रालयबाट आएको पत्रपछि गाउँपालिकाले उनको स्थानमा वरिष्ठ कर्मचारीलाई निमित्त तोक्नुपर्ने थियो । त्यो बारेमा विभिन्न समयमा कार्यपालिका समेत कुरा उठेको थियो । तर, गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टको ढिपीले अहिले उनै सेठीलाई निमित्त मानिदै आएको छ । ‘हामीले कार्यपालिकामा कुरा उठाएका थियौं तर अध्यक्ष ज्यूले मोनोपली गर्नुभयो’ एक वडाअध्यक्षले भने । 

सो पत्रअनुसार असार २४ पछि पूराना निर्णय स्वत निष्कृय हुने जनाइएको थियो । तर,  नियमसंगत निमित्त नतोकिँदा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले असारपछि तलब नै पाएका छैनन् । जसले गर्दा आउँदै गरेको दसैं पनि खल्लो बन्ने भन्दै कर्मचारी रुष्ट बनेका छन् । यति मात्रै होइन सामाजिक सुरक्षा भत्ता समेत निकास नहुँदा गाउँपालिकावासीलाई समस्या भइरहेको छ । 

ज्ञात रहोस् २०७८ सालमा भएको कार्यसम्पादन मूल्यांकनमा अजयमेरु गाउँपालिका देशकै पहिलो स्थानमा आएको थियो ।  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार सय अंकभारमा ७० भन्दा बढी अंक प्राप्त गरेर अजयमेरु सबैभन्दा अगाडि देखिएको थियो । तर, हाल भने गाउँपालिकाभित्र आएको यो किचलोले गर्दा धेरैले दुःख पाइरहेको एक कार्यपालिका सदस्यले बताए । 

यो विषयमा गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टको भनाई भने फरक छ । उनले गाउँपालिकामा कार्यरत अन्य छैठौं तहका अधिकृतहरुले आफूहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निभाउन नसक्ने भन्दै निवेदन दिएको बताए । सोही कारण हाल लालबहादुर सेठी निमित्त रहेको उनको भनाई छ । 

अध्यक्ष भट्टले गाउँपालिकाको प्रशासकीय अधिकृतको रुपमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत जीतेन्द्र ओझा आउन लागेको बताए । तर, ओझा प्रशासनमा कर्मचारी अभाव तथा कारागारको जिम्मेवारीले गर्दा अहिले आउन नसक्ने बताइएको छ । सोही समस्याको सामाधानका लागि पर्सी कार्यपालिका बैठक डाकेको अध्यक्ष भट्टले जानकारी दिए ।

‘यो समस्याका विषयमा मन्त्रालयमा पनि सोधेका छौं, त्यहाँबाट वरिष्ठ तयार नभएको अवस्थामा जुनिएरलाई प्रकाशकीय अधिकृत तोक्न सकिने भन्ने कुरा आएको छ । अब कार्यपालिका बैठकबाट के निकास आउँछ हेरौं ।’

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update