Paschim Express
डडेल्धुराको कोरालखोलामा भलिबल प्रतियोगिता सुरू, राज्यमन्त्री खड्काद्वारा उद्घाटन

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका-५ मा रहेको कोरालखोला खेल मैदानमा वडास्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको एक कार्यक्रमकाबीच सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गरिन ।

प्रतियोगिताको उद्घाटन गर्दै राज्यमन्त्री खड्काले खेल र युवा क्षेत्रमा आवश्यक सहयोग गर्ने बताइन् । उनले कोरालखोला खेल मैदान निर्माणका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

दीपावलीको अवसरमा सुरु भएको उक्त प्रतियोगिताको विजेतालाई ४१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई २१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय पुरस्कार ११ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको खेल संयोजक राजेश मल्लले बताए ।

गन्यापधुरा गाउँपालिकाको वडा नम्बर ५ मा रहेको दुर्गा भगवती युवा क्लब कोरालद्वारा उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, लिफ्टर र स्पाइकरलाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजक क्लबका अध्यक्ष नरेन्द्र भाटले जानकारी दिए । भाटको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा डोटीको शिखर नगरपालिका नगर प्रमुख दिर्घ बलायर विशिष्ट अतिथि थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update