कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालमा उडुस र फोहोरबाट आजित भएका बिरामी कुरुवा आफैंले सरसफाइ गरेका छन् । सघन उपचार कक्षको कुरुवा घरमा बस्दैका कुरुवाहरुले उक्त कक्षको सरसफाइ गरेका हुन् ।
रातिको समयमा फोहरका कारण शरीर चिलाउने र उडुस किराले हैरान पार्न थालेपछि आफैं सरसफाइ गरेको डडेल्धुराको परशुराम नगरपालिका–१० पौछ्याडीका गौरीलाल बोहराले बताए । छोराको कुरुवा बस्न आएका उनले अस्पताल प्रशासन र विकास समितिले बेवास्ता गरेपछि बिरामीका कुरुवा आफैले सरसफाइ गरेको बताए ।
अस्पतालको पुरानो भवनमा उडुस लगायतका रोग किराका कारण बिरामी र कुरुवा हैरान भएका छन् । अस्पतालमा सरसफाइ कर्मचारी भएपनि प्रशासनको बेवास्ताका कारण आइसियूमा उपचाररत बिरामीका कुरुवाहरू हैरान भएका हुन् । त्यसपछि बुधवार उनीहरूले पुरानो घरको सरसफाइ तथा रङ्गरोगनको काम गरेका छन् । सघन उपचार कक्षमा बिरामी रहेका कुरुवाहरूले मिलेर रङ्ग खरिद गरी आफै रङ्गरोगनको काम गरेकाे बाेहराले बताए ।
अस्पताल प्रशासनले पुरानो तथा जीर्ण रहेको भवनमा कुरुवा घर निर्माण गरेको भएपनि सरसफाइ तथा मर्मत गरिएको छैन । अस्पतालका मेसु शेरबहादुर कमरले पुराना र जिर्ण भएको भवन भत्काउने तयारीमा रहेकाले सरसफाइ नगरेको बताएका छन् ।