Paschim Express
डडेल्धुरामा गौ संरक्षण तथा व्यवस्थापन अभियान सुरु, यस्ता छन् योजना

डडेल्धुरा । डडेल्धुरामा गौ संरक्षण तथा व्यवस्थापन अभियान शुक्रबारबाट  सुरु गरिएको छ । बेसाहारा बनाइएका गाईहरूको व्यवस्थापनका लागि  शुक्रबार डडेल्धुराको उग्रतारा मन्दिरमा 'गौ बचाउ बहस' सम्पन्न गरिएको हो ।

अभियानमा एकैवद्धता जनाउँदै उद्योग वाणिज्य सङ्घ डडेल्धुराका महासचिव विष्णुप्रसाद जोशीले १५ हजार५ सय ५५ सहयोग गरेका छन्  । कार्यक्रममा गाै संरक्षण अभियन्ता, नागरिक समाजका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, अमरगढी नगर सरकारका प्रतिनिधि, सञ्चारकर्मी, उग्रतारा वेद विद्याश्रमका विद्यार्थीहरू (बटुकहरू) र उग्रतारा मन्दिरमा दर्शन गर्ने आएका श्रद्धालु भक्तजनहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा २२ जना वक्ताहरू रहेकोले कार्यक्रम सञ्चालन पूर्व आचारसंहिता समेत निर्माण गरिएको थियो । जसअनुसार प्रत्येक अतिथिहरूले गौ संरक्षण  र व्यवस्थापनका लागि के गर्न सकिन्छ भन्ने विषयमा आ-आफ्नो योजना राखेका थिए  ।

Messenger_creation_BA262ED5-6BA1-47CA-9652-8A6C8BCC5B8F-1730478862.jpeg


करिब ९० मिनेटसम्म गरिएको उक्त  छलफलपछि एउटा योजना बैंकको रुपमा  छलफल निष्कर्षमा पुगेको थियो । बेसारा गाईहरूको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनका लागि १० बुँदे साँझा प्रतिबद्धता समेत कार्यक्रमका सहभागीहरूले गरेका छन् । सबैभन्दा पहिले अमरगढी नगरपालिकाकै समन्वयमा अमरगढी नगरपालिकाका ११ वटै वडाहरूमा गाई गोरुहरूको तथ्याङ्क सङ्कलन गर्ने, प्रत्येक गाईगोरुहरूको सम्बन्धित वडा कार्यालयहरूमा अभिलेखीकरण गरी ट्याग लगाउने, जनचेतनाका कार्यक्रमहरू ११ वटै वडामा गर्ने, अमरगढी नगरपालिकाले तयार पारेको स्थानीय भाषाको पाठ्यक्रममा गाईको महत्वका विषयमा पाठ्यपुस्तकमा राख्नका लागि स्थानीय सरकारसँग समन्वय गर्ने, बेसहारा गौ माता मुक्त नगरपालिका घोषणा अभियान सञ्चालन गर्नका लागि छलफल गर्ने, हरेक वडामा एक एकजना गौसेवक भत्ता कार्यक्रम सञ्चालन गर्नका लागि पैरवी गर्ने ।

त्यस्तै स्थानीय सरकारको भैंसीपालन अनुदान कार्यक्रमलाई आगामी दिनमा गाईपालन कार्यक्रमको रुपमा अनुदान कार्यक्रमलाई अगाडि बढाउनका लागि प्रयास गर्ने, अस्थायी स्याहार केन्द्र स्थापना गर्ने, वर्तमान अवस्थामा बिरामी र घाइते गाईहरूको उपचार गर्ने, पहिलो चरणमा अमरगढी नगरपालिका केन्द्रित हुनेगरी गौसला निर्माण कार्यमा सबै सरोकारवाला एकजुट भएर लाग्ने, उक्त अभियान सम्पन्न गर्नका लागि सुदूरपश्चिमका विभिन्न पर्यटकीय एवं धार्मिक मेला महोत्सवहरूमा समेत आर्थिक सहयोग संकलनका लागि पहल गर्ने योजना बनाइएको छ  ।

कार्यक्रममा नेपाली कांग्रेसका सह-सचिव गोविन्द बोहरा, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष इन्जिनियर सुरेन्द्र अवस्थी, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य गोविन्द खडायत, नागरिक समाजका अध्यक्ष रमेश प्रसाद जोशी, उद्योग वाणिज्य सङ्घ डडेलधुराका महासचिव विष्णु प्रसाद जोशी, पत्रकार महासङ्घ डडेलधुराका निवर्तमान अध्यक्ष मानबहादुर साउद, अमरगढी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष नरबहादुर साँकी, गौ संरक्षण अभियानका संरक्षक जयप्रसाद जोशी, युवा अभियन्ता सजन सिंह ठकुरी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण गर्दै अमरगढी अनलाइन टिभीका कार्यकारी निर्देशक लोकेन्द्र ओझाले लोक कल्याणकारी पत्रकारितालाई निरन्तरता दिँदै सामाजिक उत्तरदायित्वको रुपमा बेसाहारा गौ संरक्षण अभियानमा निरन्तर लाग्ने बताए ।

कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा ओमकार सनातन हिन्दू प्रतिष्ठान अमरगढी ५ डडेलधुराका अध्यक्ष तिलक हमालले कार्यक्रममा सक्रिय सहभागिताका लागि सम्पूर्ण अतिथिहरूलाई विशेष आभार व्यक्त गरे । भने, बेसाहारा गौमाताको रक्षा गर्ने सबैको दायित्व र जिम्मेवारी भएकोले आगामी दिनमा सञ्चालन गर्ने अभियानमा पनि आर्थिक नैतिक भौतिक सबै प्रकारको  सहयोग गरिदिनका लागि समेत सबैमा उनले अपिल गरे । 

गौ संरक्षण तथा व्यवस्थापन अभियान डडेल्धुरा जिल्लामा रहेको श्री ओमकार सनातन हिन्दू प्रतिष्ठान  र अमरगढी अनलाइन टिभीको संयुक्त आयोजनामा सुरु गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update