Paschim Express
सुदूरपश्चिम सरकारले ३५ जनालाई डाक्टर पढाउँदै

काठमाडौँ । सुदूरपश्चिम सरकारले ३५ जना विद्यार्थीलाई एमबीबीएस पढाइरहेको छ ।

चिकित्सक संख्या न्यून रहेको सुदूरपश्चिममा प्रदेश सरकारले हरेक वर्ष नौ जनाका दरले हालसम्म ३५ जनालाई छात्रवृत्ति दिएर चिकित्सा शास्त्र संकायतर्फ स्नातक (एमबीबीएस) अध्यापन गराइरहेको हाे  । एमबीबीएस अध्ययनमा लाग्ने सम्पूर्ण शुल्क प्रदेश सरकारले छात्रवृत्तिका रूपमा तिर्ने गरेको छ ।

अध्ययनरत ३५ जनामध्ये २७ छात्र र ८ छात्रा छन्  । उनीहरू मुलुकका विभिन्न मेडिकल कलेजहरूमा अध्ययनरत छन् । एमबीबीएस अध्ययन पूरा गरेपछि उनीहरूले दुई वर्ष अनिवार्य रूपमा प्रदेशमै सेवा गर्नुपर्ने सर्त छ । चालु आर्थिक वर्षमा पनि थप ९ जनालाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु भइसकेको छ ।

प्रदेश सरकारको छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीमध्ये सबैभन्दा धेरै बझाङका छन् । बझाङबाट ६ छात्र र दुई छात्रा अध्ययनरत छन् । बाजुराबाट तीन छात्र, कञ्चनपुरबाट तीन छात्र र दुई छात्रा, दार्चुलाबाट चार छात्र र एक छात्रा, डोटीबाट तीन छात्र र एक छात्रा, कैलालीबाट चार छात्र, अछामबाट तीन छात्र, डडेल्धुराबाट एक छात्र र एक छात्रा तथा बैतडीबाट एक छात्रा छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत रहेको सामाजिक विकास मन्त्रालयकी प्राविधिक सहायक तुलसी ओझाले बताइन्  ।

प्रदेश सरकारले ०७८ देखि छात्रवृत्ति दिन थालेको हो  । छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई प्रतिवर्ष १० लाख रुपैयाँका दरले पाँच वर्षसम्म निरन्तर छात्रवृत्ति रकम प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update