Paschim Express
बालिकाको मृत्युपछि सुजङ अस्पतालमा तनाव, ३ जना चिकित्सक पक्राउ

डोटी । हात भाँचिएर उपचारका लागि अस्पताल पुगेकी ९ वर्षीया बालिकाको मृत्यु भएपछि डोटीको सुजङ अस्पतालमा तनाव भएको छ ।

दिपायल सिलगढी नगरपालिका–३, की ९ वर्षीया रजनी भुलको  बुधबार राति मृत्यु भएपछि उनका आफन्त र स्थानीयले अस्पताल परिसरमा प्रदर्शनका साथै तोडफोड गरेका छन् ।

चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीय अस्पताल तोडफोडमा उत्रिएका हुन् ।

अस्पतालमा थप क्षति हुन नदिन र घटनाको अनुसन्धानका लागि उपचारमा संलग्न चिकित्सकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिए । 'थप क्षति हुन नदिन उहाँहरूलाई नियन्त्रणमा लिएका हौं, थप अनुसन्धान भइरहेको छ,' उनले भने ।

उपचारमा संलग्न डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया दिइएको खुलेको छ । त्यसपछि बालिका होसमा नआएकी शर्माले बताए ।

एसपी शर्माका अनुसार बेहोस पार्ने क्रममा दिइएको औषधिको असरले बालिकाको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ ।

मृतकका आफन्तले बालिकाको शव बुझ्न मानेका छैनन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update