धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार सम्मेलन गर्दै सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन् । ८.०२ प्रतिशत वित्तीय प्रगती गरेको मुख्यमन्त्री शाहले बताए ।
उनका अनुसार चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख बजेट रहेकोमा ११.०१ प्रतिशत खर्च भएको छ भने १८ अर्ब ७६ करोड २४ लाख पूजीँगत बजेट रहेकोमा ५.९७ प्रतिशत खर्च भएको छ । चालु वर्षमा प्रदेश सरकारले एक अर्ब ६० करोड ७० लाख १५ हजार राजश्व संकलनको लक्ष्य राखेकोमा अहिलेसम्म २३.९३ प्रतिशत अर्थात् ३८ करोड ४५ लाख ३० हजार संकलन भएको मुख्यमन्त्री शाहले बताए ।
प्रदेश सरकार गठन भएको अवधिमा १८.५ किलोमिट सडक कालोपत्रे गरिएको छ भने २७ किलोमिटर सडक ग्राभेल गरिएको छ । दुई वटा सडक पुल निर्माण भएका छन् । मुख्यमन्त्री शाहले सरकारका सय दिन शासकीय दृष्टिले तथा राजनीतिक, प्रशासनीक र आर्थीक पक्षमा उपलब्धिमूलक रहेको दाबी गरे । उनले प्रदेश सरकारले राजधानीको विषय पनि टुंगो लगाउन खोजेको बताए ।
‘अहिलेसम्म गोदावरी राजधानी निर्माणका लागि भएका सबै प्रक्रियाको विषयमा प्रधानमन्त्रीज्यूलाई लिखित रुपमा जानकारी गराइएको छ,’ उनले भने, ‘गोदावरीको जग्गा उपलब्ध हुँदैन भने विकल्प खोज्छौं भनेर पनि भनिसकेका छौं । अबको हिउँदे अधिवेशनले राजधानीको विषय टुंगो लगाउँछ ।’