डडेल्धुरा । २६ गते गृहजिल्ला डडेल्धुरा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धर्मकर्ममा व्यस्त देखिएका छन् । सोमबार परशुराम धामको दर्शन गरेका देउवा मंगलबार आफ्नै गृहपालिका गन्यापधुरा पुगेका थिए । त्यहाँ उनी चौलोले प्रख्यात बडाल जात्रामा सहभागी भएका थिए भने गन्याप देवताको पूजापाठ पनि गरेको उनको सचिवालयले जनाएको छ ।
पूजाअर्चनापछि देउवाले संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । सानै उमेरदेखि बडाल जात्रामा आएर पूजाआजासँगै मेलाको रौनकमा रमाउने स्मरण गर्दै उनले विभिन्न कार्यक्रममा समेत बडालको चौलो देखाउने गरेको बताए ।
यस्तै ३० गते उनी आफ्नै गाउँको कुल पूजामा सहभागी हुने कार्यक्रम रहेको नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ । देउवा १ गते सुदूरपश्चिममै प्रख्यात उग्रतारा मेलामा पनि सहभागी हुने कार्यक्रम छ ।
धर्मकर्मसंगै देउवा कार्यकर्ता भेटघाटमा पनि व्यस्त देखिउका छन् । देउवाले बुधबार जिल्ला कार्यसमितिले आमन्त्रण गरेको बैठकमा सय दिने संकल्प यात्राबारे पनि छलफल गर्ने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
उनले यसअघि परशुराम नगरपालिका, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकामा कार्यकर्ता भेटघाट गरिसकेका छन् । बुधबार नै नवदुर्गा गाउँपालिकामा पनि कार्यकर्ता भेटघाटका लागि देउवा पुग्ने कार्यक्रम छ ।
यस्तै २९ गते मध्यान्न १२ बजे अजयमेरु गाउँपालिकाको पुइलेक र १ बजे चमडा बजारमा भेटघाट कार्यक्रम गर्ने तय भएको नेपाली काँग्रेस अजयमेरुका सभापति टेकराज पाण्डेयले जानकारी दिए ।