डडेल्धुरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुने बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन् । ‘जुनसुकै पार्टीका भए पनि सहकारी ठगीमा संलग्नलाई कारबाही हुन्छ,’ उनले भने, –सहकारीपीडितको रकम फिर्ताका लागि पनि सरकारले काम गरिरहेको छ ।’
उनले डडेल्धुरामा पनि शिवशिखर सहकारीले ठुलो रकम ठगी गरेको बताउँदै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने बताए ।
सभापति देउवाले ०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफूँ लड्ने/लड्ने विषयमा डडेल्धुराका नागरिकलाई सोध्नुपर्ने बताए । ०८४ को निर्वाचन पनि तपाईँले नै लड्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा मुस्कुराउँदै देउवाले भने, ‘मलाई भोट हाल्नेलाई सोध्नुस् ।’ देउवाले सुदूरपश्चिमको राजधानी डडेल्धुरा सार्छु भनेर यसअघि पनि आफूँले आवासन नदिएको दाबी गरे ।
‘पहाडमा पूर्वाधारको अभाव भएका कारण राजधानी बनाउन समस्या भएको हो भनेर बोलेको हुँ,’ उनले भने, ‘राजधानी नै सार्छु भनेको छैन । डडेल्धुराभन्दा बरु डोटीका लागि कुरा भएको हो ।’ उनले डडेल्धुराको भित्रीमधेस क्षेत्रमा महाकाली नदीमाथि पक्की पुल पनि बन्ने दाबी गरे । भारतका प्रधानमन्त्रीले पुल निर्माणका लागि आश्वासन दिएको भन्दै उनले पुल निर्माण हुने बताए ।
डडेल्धुरामा विमानस्थल निर्माणका लागि पनि प्रक्रिया अगाडि बढ्ने उनको दाबी थियो । उनले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । लिखित सहमितअनुसार अहिलेको गठबन्धन ०८४ सालसम्म नै चल्ने बताएका हुन् । ‘सुरुको दुई वर्ष एमाले र त्यसपछि काँग्रेस नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति छ,’ उनले भने, ‘सोही सहमतिअनुसार सरकार अगाडि बढ्छ ।’