Paschim Express
प्रसिद्ध देहीजाँतमा पुगे देउवा दम्पती

डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहीजाँत’ शनिबार लागेको छ । डडेल्धुरा सदरमुकामबाट ५ किलोमिटर टाढा रहेको उग्रतारामा शुक्रबार रतेडी र आज दिउसेडी मेला लागेको हो ।

अमरगढीकै खनमडा, छचोडा, दमडा र जिलोडा गाउँबाट बिहान देउरो आएपछि आज दिउसेडी मेला सुरु भएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए । 

उग्रतारामा लागेको मेला भर्नका लागि सुदूरपश्चिमका सबै नौं जिल्ला, कर्णाली प्रदेश र भारतबाट पनि दर्शनार्थीहरु पुग्ने गरेका छन् । यस्तै, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि मेलामा पुगेका छन् । देउवा दम्पतीले मेलामा पूजाआजा पनि गरेका छन् । 

किम्बदन्तिअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको विश्वास छ । सोही दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको बताइन्छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update