Paschim Express
दिपायलमा तनाव, केआईसिंह राजमार्ग अवरुद्ध

डोटी । सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिका माग गर्दै सोमबारदेखि सडक अवरुद्ध गरेका छन् ।

शनिवार साँझ शिखर नगरपालिका—८ खुन भन्ने ठाउँमा सडक दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु थियो ।

प्रहरीका अनुसार डडेल्धुराबाट दिपायलतर्फ आइरहेको सु.प.प्र. ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको बोलेरो जीपले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक प्रकेश विक घाइते भएका थिए । घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ ।

दोषीलाई कारबाही गर्नु पर्ने र मृतक तथा घाइते परिवारले क्षतिपूर्ति पाउनु पर्ने माग गर्दै आफन्तहरूले सोमवार साँझदेखि केआईसिंह राजमार्गको शिखर नगरपालिका वडा नं. ६ मा अवरुद्ध गरेका छन् ।

पीडित पक्षसँग सहमति गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । ‘पीडित पक्षलाई हामीले बोलाएका छौँ, उहाँहरू आउँदै हुनुहुन्छ’ जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक सन्दीप शाहले भने ‘केही बेरमै उहाँहरूसँग वार्ता गरेर सडक खुलाउँछौँ ।’

मोटरसाइकललाई ठक्कर दिएर फरार भएको भन्दै आइतबार प्रहरीले जीप चालक भरत बहादुर सिंहलाई पक्राउ गरेको छ । सिंहले भने आफूले दुर्घटना नगराएको बताउँदै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update