Paschim Express
बडादसैँ प्रारम्भ, आज घटस्थापना

काठमाडौँ ।  हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने बडादसैँको पहिलो दिन घरघरमा घटस्थापना गरी महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा गरिन्छ । 

घटस्थापनामा घडाको पूजा गरी जौ, मकै, गहुँलगायतको बिउ छरेर जमरा राखिन्छ । यस पटक घटस्थापनाको शुभ साइत बिहान ११ बजेर २९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नौ दिनसम्म देवीलाई विभिन्न रूपमा पूजा गरेर दशमीको दिनमा विसर्जन गरी घडाको जलले अभिशेष गरी मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा रहेको छ । नौ दिनसम्म हरेक दिन दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिने भएकाले ती दिनलाई नवरात्रिका रूपमा पनि मनाइन्छ ।

दशमीको दिनलाई विजया दशमीका रूपमा मनाइन्छ । यसरी टीका लगाउने क्रम कतै एक दिन मात्र हुन्छ भने कतै पूर्र्णिमासम्म नै लगाइन्छ ।  

दसैँको पहिलो दिन ‘शैलपुत्री’ नामकी देवीको पूजा गरिन्छ । आआफ्नो क्षेत्रमा रहेका शक्तिपीठहरूमा दर्शन गर्ने र पञ्चबलि दिने परम्परा रहेको छ । विभिन्न कोतमा सरकारका तर्फबाट नै बलीको व्यवस्था गरिँदै आएको छ ।  

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update