डडेल्धुरा । जिल्ला सदरमुकामका घर धनीले मुआब्जा पाएको महिनौं पुगे पनि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन अटेरी गरेपछि अमरगढी नगरपालिकाले डोजर लगाएको छ । सडकको क्षेत्राधिकारभित्रै पर्ने भौतिक संरचना र जग्गाको मुआब्जा व्यक्तिलाई वितरण गरिए पनि पटकपटक आग्रह गर्दा पनि सडकको क्षेत्राधिकार खाली नगरिएपछि डोजर चलाइएको हो ।
सदरमुकाम क्षेत्रको मुआब्जा वितरण भएर सडक क्षेत्र महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ ।
वडा कार्यालय र नगरपालिकाले पटकपटक लिखित रुपमै आग्रह गर्दा पनि बेवास्ता भपछि आफैँ संरचना हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
जिल्ला सदरमुकाम क्षेत्र महाकाली राजमार्गमा पर्छ । तर, कैलालीको मोहना पुलदेखि दार्चुलासम्मको महाकाली राजमार्गको चौडाइ राजपत्रमा फरक–फरक छ । कैलालीदेखि डडेल्धुराको बसपार्कसम्म ५० मिटर र डडेल्धुरा बसपार्कदेखि दार्चुलासम्म ३० मिटर राजमार्गको चौडाइ रहेको राजपत्रमा उल्लेख छ ।
सोअनुसार डडेल्धुरा जिल्ला सदरमुकामको बागबजार, तुफानडाँडा, कीर्तिपुरलगायतका क्षेत्रमा सडकको चौडाइ ३० मिटर हुनुपर्ने हो । तर, जिल्ला सदरमुकाम बागबजारलगायत तुफानडाँडा–कीर्तिपुर–पोखरा हुँदै दार्चुलाको खलंगासम्मको महाकाली राजमार्ग ५ मिटर चौडा मात्रै कालोपत्रे गरिएको छ । जसका कारण सडक क्षेत्रमा सयौँ घर निर्माण भएका छन् । सडक क्षेत्र खाली भएपछि सडक डिभिजन कार्यालय कुलपाते सडक निर्माणका लागि टेन्डर गर्ने तयारीमा छ ।