अछाम । जिल्ला अस्पताल अछाममा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया (अप्रेशन) भएको छ । जिल्ला अस्पताल अछाममा जटिल प्रकारको शल्यक्रिया भएको पहिलोपटक हो ।
यसअघि अस्पतालमा प्रसूति सेवाको शल्यक्रियामार्फत हुने गरेपनि यस प्रकारको शल्यक्रिया जिल्ला अस्पताल अछाममा पहिलो पटक भएको अस्पतालले जनाएको छ । बाजुरा घर भएका एक पुरुषलाई पेट दुख्ने समस्या देखिए पछि उनलाई बाजुरा अस्पताल लगिएको थियो । बाजुरा जिल्ला अस्पतालमा शल्यक्रिया सम्भव नभएपछि ती बिरामीलाई रेफर गरिएको थियो । जिल्ला अस्पताल बाजुराले उनलाई अछाम रेफर गरेपछि जिल्ला अस्पताल अछामले सफल शल्यक्रिया गरेको हो ।
शल्यक्रिया उपचारमा संलग्न डा अधिराज आचार्यले ‘जिल्ला अस्पताल पहिलो पटक यस्तो खालको शल्यक्रिया सफल भएको र यो समग्र अछाम बासीका लागि खुसीको कुरा भएको बताए । जिल्ला अस्पताल अछामको इतिहासमै पहिलो पटक भएको शल्यक्रिया सफल भएको भन्दै डा आर्चायले अब अछाम अस्पतालले एम डिजिपिले गर्न सकिने मेजर शल्यक्रिया सेवा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतका शल्यक्रिया सुरु हुने जानकारी दिए।
यस अघि जिल्ला अस्पताल अछाममा शल्यक्रियाबाट प्रसूति सेवा मात्र हुने गरेको थियो । शल्यक्रियाको थप सेवा बिस्तार भएसँगै अछामका मात्रै नभइ बाजुरा, दैलेख लगायत छिमेकी जिल्लाका बिरामी लाई पनि सहज हुने भएको छ । एमडिजिपि विशेषज्ञ डा कम्लेस प्रसाद यादवको नेतृत्वमा रहेको टोलिले सो अप्रेसन सफल पारेको हो ।