डडेल्धुरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको परशुराम नगरपालिकामा कार्यरत अहेब रमेश बोहराविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।
अनुसन्धानको क्रममा अहेब बोहराले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी लाभ लिएको पुष्टि हुन आएकोले आरोप पत्र दायर गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
आयोगका अनुसार उनीविरुद्ध शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्दै आवश्यक छानबिनका लागि उजुरी परेको थियो ।
बोहराले काउन्सिल फर टेक्निकल इजुकेसन एन्ड भोक्यासनल ट्रेनिङ, अफिस अफ द कन्ट्रोलर अफ इक्जामिनेस, भक्तपुरबाट जारी भएको कम्युनिटी मेडिसिन एसिस्टेन्ट तहको झुट्टा/नक्कली मार्कसिट र प्रमाणपत्रहरू पेस गरी परशुराम नगरपालिका-८ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ११ भदौ २०७७ मा अहेब तहमा नियुक्त भई हालसम्म बहाल रहेको देखिन आएको आयोगले जनाएको छ ।