Paschim Express
सुदूरपश्चिमका ५ स्थानमा शान्तिपूर्वक मतदान हुँदै

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका पाँच स्थानीय तहमा मतदान भइरहेको  छ। 

प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार आइतबार बिहान ७ बजेदेखि सबै ठाउँमा मतदान कार्य सुरू भएको हो ।

सुदूरपश्चिममा एक उपाध्यक्ष र चार वडाअध्यक्षका उपचुनाव भइरहेको छ ।  मतदानका लागि १० वटा मतदास्थल र २२ वटा मतदान केन्द्र राखिएका छन्।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि मतदान जारी छ । 

सुरक्षा दृष्टिकोणले संवेदलशील मानिएको यो क्षेत्रमा एसपी सरोज पौडेलको नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । 

यहाँ ५ मतदानस्थल र ९ मतदान केन्द्र राखिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। स्वामीकार्तिक खापरमा ७ हजार ४ सय ६० मतदाता छन् ।

बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षको छान्न हुने उपचुनावका लागि  एउटा मतदानस्थलमा दुई केन्द्र राखिएका छन्। यहाँ १ हजार ५ सय ५४ मतदाता छन् ।

नेपाली कांग्रेसका धिरेन्द्र पुजारा, नेकपा एमालेका लखीचन्द्र बोहरा र नेकपा माओवादी केन्द्रका पुष्करबहादुर बोहरा उम्मेदवार छन् ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्षको उपचुनावका लागि एउटा मतदानस्थलमा दुई केन्द्र राखिएको छ। यहाँ १ हजार २ सय ७२ मतदाता छन् । 

दुहुँ गाउँपालिका–५ को अध्यक्षका लागि ४ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका धनसिंह कुँवर, नेकपा एमालेका मानसिंह बडाल, नेकपा माओवादी केन्द्रका विरसिंह कार्की र स्वतन्त्र लालबहादुर कुँवर उम्मेदवार छन् ।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ को अध्यक्षको लागि नेपाली कांग्रेसका मोहन थापा, नेकपा माओवादी केन्द्रका देवीलाल थापा, नेकपा एमालेका देवीबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीकी जानकी कुमारी खड्का कुँवर उम्मेदवार छन् ।

२ मतदानस्थल र ३ केन्द्र राखिएको यहाँ १ हजार ५ सय ९३ मतदाता छन् ।

भीमदत्त नगरपालिका–६ को अध्यक्षका लागि दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार छन् । भीमदत्त नगरपालिका–६ मा एउटा मतदानस्थलमा ६ केन्द्र राखिएका छन् । भीमदत्त नगरपालिका–६ मा ५ हजार ४ सय ३४ मतदाता छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update