डडेल्धुरा । सुदूरपश्चिममा पाँच पदका लागि भएको उपनिर्वाचनको मत परिणाम सार्वजनिक भइसकेको छ ।
एक उपाध्यक्ष र चार वडाअध्यक्षका लागि भएको उपनिर्वाचनमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) को नतिजा शून्य आएको छ । कांग्रेस एक्लैले चार वडाअध्यक्ष हात पारेको छ । एमालेले भने एउटा उपाध्यक्ष पद मात्र जितेको छ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन् । भण्डारीले एक हजार ७४० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताए । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार ४७४ प्राप्त गरेकी छन् । कूल सात हजार ४६० मतदातामध्ये तीन हजार ९ सय तीन मत खसेको थियो । निर्वाचित भण्डारी २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन् । तत्कालीन उपाध्यक्ष जोशीको २०८० माघ ४ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । उनी एक हजार १०७ मतसहित अध्यक्ष पदमा निर्वाचिन भएका हुन् । चन्दका निकटतम प्रतिद्वन्द्वी एमालेका बहादुर चन्दले ४८७ मत प्राप्त गरेका छन् ।
बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसै धिरेन्द्र पुजारा विजयी भएका छ न्। पुजाराले ६५७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लठिचन्द्र बोहराले ४८७ मत प्राप्त गरेका छन् । त्यहाँ माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत पाएका छन् । एक हजार ५५४ मतदाता रहेको सुर्मा गाउँपालिका–४ मा कुल एक हजार १७८ मत खसेको थियो । यसअघि सो वडामा एमालले जितेको थियो ।
डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाअध्यक्षमा कांग्रेसका मोहन थापा विजय भएका छन् । उनले ४६८ मत प्राप्त गरी विजयी भएका हुन्। निर्वाचन कार्यालयका अधिकृत रुद्रमणि गिरीका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवबहादुर थापाले ३०१ मत प्राप्त गरेका छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीकी जानकीकुमारी खड्का (कुँवर)ले ३१ र माओवादी केन्द्रका देवीलाल थापाले २६ मत प्राप्त गरेका छन् । १३ मत बदर भएको छ । कूल एक हजार ५९३ मतदाता रहेको सो वडामा ८३९ मत खसेको थियो । यसअघि पनि वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नै विजयी भएका थिए ।
दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा पनि नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छ न्। कुँवरले ३७६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका मानसिंह बडालले ३६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले बताए । माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पाण्डेले बताए । कूल एक हजार २७२ मतदातामध्ये ८७७ मत खसेको छ ।
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको हो ।