Paschim Express
दार्चुलाको असिगडामा नेपाल–भारत जोड्ने मोटरेबल पुल

दार्चुला - दार्चुलाको असिगडामा नेपाल–भारत जोड्ने ११० मिटर लम्बाइको मोटरेबल स्टिल ब्रिज निर्माणको काम सकिएको छ । 

असिगडा पुल कञ्चनपुरपछि दोस्रो मोटरेबल नाका बनेको छ । पुल निर्माणको काम भारतीय पक्षले गरेको हो । दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला तहसिल बलुवाकोट नजिकको छारछुम क्षेत्र जोड्ने मोटरेबल पुलको काम यही मङ्सिर पहिलो साता सकिएको हो । 

अब दुई देशका नागरिक यातायात सुचारु हुने प्रतीक्षामा छन् । भारतीय कम्पनी पी एन्ड आर इन्फ्रा पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपियाँ रहेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले बताए । पुल निर्माणको काम सम्पन्न भएपछि नेपाल र भारतका धार्मिक, पर्यटकीय क्षेत्र र व्यापार व्यवसायमा टेवा पुग्ने छ । 

पुल निर्माणको काम सकिएपछि नेपालतर्फको १५० मिटर सडक सम्याएर स्तरोन्नतिको काम भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । प्रजिअ जोशीले पुल सञ्चालनका लागि दुई देशका उच्च अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेपछि सञ्चालनमा आउने बताए । 

 यो पुलबाट भारतको धार्चुला हुँदै पिथौरागढ, हलद्वानी भएर टनकपुर र भारतको राजधानी नयाँ दिल्लीसम्म पुग्न सकिन्छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update