Paschim Express
कञ्चनपुरमा दम्पती हत्या प्रकरण: डेढ महिनापछि पक्राउ परे आरोपित

कञ्चनपुर ।  कञ्चनपुरमा भएको दम्पती हत्या प्रकरणमा अन्दाजी ५० वर्षीय गङ्गाराम चौधरी  पक्राउ परेका छन् । लालझाडी गाउँपालिका वडा नम्बर २ का चौधरीलाई  प्रहरीले  हिजो (बुधबार) पक्राउ गरेकाे हाे । 

आज उनीमाथि म्याद थप गर्ने तयारी गरिएको छ । हत्या आरोपितले अभियोग स्वीकार गरेपछि थप अनुसन्धान थालिएको र आज अदालतबाट म्याद थप गरिन लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले बताए । उनका अनुसार १२ बजे राति घटना मदिराका कारण घटेको देखिएको छ ।  सो घटना झण्डै डेढ महिना समय लगाएर प्रहरीले अनुसन्धान गरेपछि केस सुल्झिएको हो । 

 गत महिनाको ८ गते राति घटना घटेकोमा तत्कालै प्रहरीले अनुसन्धान थालेको थियो । गत कार्तिक महिनाको ८ गते राति लालझाडी गाउँपालिका–१ बिनावारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

मृतक बडायक दम्पती लामो समयदेखि नास्ता पसल चलाउँदै आएका थिए । गाउँको घरभन्दा करिब साढे एक किलोमिटर टाढा उनीहरूले मदिरासहितको नास्ता पसल चलाउँथे । उनीहरू पसल रहेको घरमा बस्ने गरेका थिए ।

 हत्यापछि रमेशको शव आँगनमा भेटिएको थियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो । कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य अवस्थामा भेटिएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update