काठमाडाैं । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/ प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने व्यक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री लेखकको पीए बताउने बैतडी घर भएका २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिष्टलाई पक्राउ गरिएको अनुसन्धान थालिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । गृहमन्त्रीको नक्कली पीए बनेर ठगी गर्दै हिँडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेर कानुनी कारबाही अघि बढिसकेको उनले बताए ।
त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि नक्कली पीएको विषय सचिवालयमा आएपछि सुक्ष्म रूपमा जानकारी लिइरहेको थियो । नक्कली पीएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालयको आग्रहमा पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पीए÷सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन आग्रह गरेको छ ।