![एमाले परशुरामद्वारा जनजागरण अभियान](https://www.paschimexpress.com/uploads/posts/2761bb44-b725-434c-9bd3-214c14a87705-1733635246.jpeg)
पदम जोरा, जोगबुडा । नेकपा एमाले परशुरामले मङ्सिर २० गतेदेखि परशुराममा जन जनगरण अभियान सुरु गरेको छ । पार्टीको केन्द्रीय सर्कुलर र जिल्ला कमिटीको निर्णय अनुसार जनजागरण अभियान सुरु गरिएको एमाले परशुरामका अध्यक्ष ओम प्रकाश जोशीले बताए ।
परशुरामको दुर्गम वडा भागेश्वरको पवित्र भूमी परशुराम २ बसौटीबाट जनजागरण अभियान सुरु गरिएको अध्यक्ष जोशीले जानकारी दिए । परशुराम नगरपालिकामा काङ्ग्रेस र माओवादी केन्द्रको मिश्रित सरकारका भइरहेका काम कारवाहीका एजेण्डासहित पार्टीका केन्द्रीयदेखि नगर, जिल्ला र प्रदेशका सदस्यहरु सहभागी जनतामाझ गइरहेको एमाले डडेल्धुरा जिल्ला इन्चार्ज पठान सिंह बोहराले बताए ।
‘२ पार्टीको मिश्रित परशुराम स्थानीय सरकारप्रति जनता सन्तुष्ट छैनन् । जनताका लागि भन्दा २ पार्टीका नेताहरुको भागबण्डामा अहिले सम्मका आर्थिक वर्षको बजेट आउने गरेको छ’ पूर्व राष्ट्रिय सभा सदस्य चक्र प्रसाद स्नेहीले आरोप लगाउँदै भने । स्थानीय सरकारको दायित्व समेत नबुझेको उनको भनाइ थियो ।
यहाँको ठुलो कृषि सहकारी चोरी भएको करिब ८ महिना पुग्दा समेत चोरी विषयमा स्थानीय सरकारको सदनमा कुरो नउठ्नु पनि दुई दलीय सरकार जनताको पक्षमा छैन भन्ने बुझ्नु पर्ने उनको धारणा थियो ।
जनजागरण अभियान १२ वटै वडामा सञ्चालन गरिने समेत नगर कमिटीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।