काठमाडौं । सरकारले चिकित्सा शिक्षा सम्बन्धित विधेयक अगाडि बढाएको छ । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा चिकित्सा शिक्षासँग सम्बन्धित पहिलो विश्वविद्यालय स्थापना हुने गरी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० दर्ता गरेको हो ।
गत शुक्रबार राष्ट्रिय सभामा दर्ता भएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास भएसँगै यस विषयमा बहस सुरु भएको छ। दुवै संघीय संसदमा विधेयकमा दफाबार छलफल हुनेछ । राष्ट्रिय र प्रतिनिधि सभाबाट विधेय पारित भएपछि चिकित्सा शिक्षा मात्र पठनपाठन गराउने नेपालकै पहिलो विश्वविद्यालय सञ्चालनमा आउने छ ।
सरकारले हाल सुदूरपश्चिमको कैलालीस्थित गेटमा निर्माणाधिन गेटा अस्पताललाई नै सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडि बढाएको हो ।
विधेयक अनुसार विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति रहने र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था गरिएको छ । उपकुलपति भने खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्रस्ताव गरिएको छ ।
विश्वविद्यालयले आफ्नो आंगिक शिक्षण संस्थाबाहेक अन्य कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिन नपाउने व्यवस्थाको प्रस्ताव पनि विधेयकमा गरिएको छ ।