Paschim Express
डडेल्धुरा अस्पतालमा पहिलोपटक हेमोडायलाइसिसको सफल परीक्षण, एक हप्तापछि नियमित सेवा 

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–४ का ५४ वर्षीय राजेन्द्र विक्रम भण्डारी विगत एक वर्षअघिबाट मृगौला पीडित बिरामी छन् । नियमित डायलाइसिस गर्नुपर्ने भएकाले उनको परिवारले हप्ताको दुईपटक धनगढी पुग्नुपर्ने बाध्यता थियो डायलाइसिस सेवा निःशुल्क भएतापनि गाडीभाडा र औषधी लगाएर उनको एकपटक डायलाइसिस गराउँदा करिब १५ हजार जति खर्च आउँथ्यो । 

त्यसरी धनगढीको सेती प्रादेशिक अस्पताल जाँदा महिनामा लगभग ७५ हजार खर्च हुने उनका छोरा भुवन भण्डारीले बताए ।  तर, अब भने राजेन्द्र विक्रमको डायलाइसिस डडेल्धुरामै हुने भएको छ । 

469578027_8904793652921294_5062313572435446992_n-1733808312.jpg
हिजो (सोमबार) डडेल्धुरा अस्पतालले राजेन्द्रमाथि सफल डायलाइसिस परीक्षण गरेको छ । योसँगै भण्डारी परीवारले धनगढी धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । उता आउजाउ गर्न लाग्ने भाडा जोगिने र अब डडेल्धुरामै करिब २५ सयमा बुवाको डायलाइसिस हुने छोरा भुवन बताउँछन् । उनले आफ्ना बुवा जस्तै डडेल्धुराका १२ जना मृगौला पीडितलाई केही राहत हुने बताए । 
डडेल्धुरा मात्रै नभएर सुदूरपश्चिमका ७ पहाडी जिल्लावासीले अब धनगढी जानु नपर्ने डडेल्धुरा अस्पतालले जनाएको छ । जसकाकारण बिरामीको केही मात्रामा भएपनि खर्च बच्ने डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए । 
उनका अनुसार डडेल्धुरामा स्वास्थ्य विभागबाट दुई वर्षअघि हेमोडायलाइसिसका ५ वटा उपकरण प्राप्त भएको थियो । तर, प्रर्याप्त पूर्वाधार तथा जनशक्ति अभावमा डायलाइसिस सेवा सुरु गर्न नसकिएको उनले बताए । 

हिजो डायलाइसिसको सफल परीक्षण पश्चात अब सेवा नियमित हुने उनले बताए । ‘हामीले सफल परीक्षण गरेका छौं । अब स्वास्थ्य विभागमा सूचीकृत गर्नुपर्ने हुन्छ । त्यसका लागि सेवाग्राहीको तथ्यांक लिएर हामीले रिपोर्ट तयार गरेर पठाउने छौं । त्यसपछि विभागबाट अनुगमन भएर हामीलाई अनुमति प्राप्त हुन्छ’ उनले भने ।

अध्यक्ष ओझाका अनुसार सूचीकृत हुन करिब एक हप्ता लाग्ने अनुमान गरिएको छ । अनुमति पाएपछि डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका करिब २५ जना बिरामीले डडेल्धुरा अस्पतालबाट सेवा पाउने उनले बताए । ‘अहिले हामीसँग डायलाइसिस गर्ने १५ जनाजतिको दक्ष जनशक्ति छ । सेवा सुरु भएपछि एकैदिनमा हामी ४ जना बिरामीलाई सेवा दिन सक्षम हुनेछौं’ उनले भने । 

अस्पतालले डायलाइसिस सेवाको शुभारम्भ गरेसँगै यस क्षेत्रका विपन्न नागरिकलाई उपचारमा सहजता हुने अस्पतालले विश्वास लिएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update