Paschim Express
पोखरामाथि रोमाञ्चक जितसँगै सुदूरपश्चिम प्लेअफमा

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा उक्लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले पोखरालाई पाँच रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले १९.४ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्रै बनाउन सक्यो ।

पोखराका लागि एन्ड्रिज गउसले ३६, रेयमन रेफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाए । सुदूरपश्चिमका लागि स्कट कगेलजिनले पाँच विकेट लिए । उनले ३.४ ओभरमा एक मेडियन राखेर १८ रन मात्रै खर्चिए । त्यस्तै, हरमित सिंहले तीन र सैफ जैबले एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १५३ रन बनाएको थियो। सुदूरपश्चिमका लागि आरिफ शेखले ४२, ब्रान्डन म्याकमुलनले २३, दीपेन्द्रसिंह ऐरीले २०, विनोद भण्डारीले १४, हरमित सिंहले १३ र इशान पाण्डेले १० रन बनाए।

पोखराका लागि कुशल भुर्तेलले दुई, रेयमन रेफर, सागर ढकाल र मिचेल लिकले एक–एक विकेट लिए ।

यो जितसँगै सुदूरपश्चिम ‘प्लेअफ’मा पुगेको छ। सुदूरपश्चिमले ६ खेलमा पाँच जितसहित १० अंक जोडेको छ । त्यस्तै, १० अंक रहेको जनकपुर बोल्टस् र आठ अंक रहेको चितवन राइनोज पनि ‘प्लेअफ’मा पुगिसकेका छन् ।

पोखराको भने यसअघि नै ‘प्लेअफ’ यात्रा समाप्त भइसकेको थियो। पोखरासँगै विराटनगर किंग्स र लुम्बिनी लायन्स पनि बाहिरिसकेका छन् ।

‘प्लेअफ’को चौथो टोलीका लागि कर्णाली याक्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा छन् । सोमबार हुने कर्णाली र सुदूरपश्चिमको खेलले ‘प्लेअफ’को चौथो टोली तय हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update