Paschim Express
डडेल्धुराका लक्ष्मण शिक्षण पेसा छोडेर किबीबाट कमाउँदैछन् वार्षिक १० लाख

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

२०७० सालदेखि किबी खेती सुरु गरेका मगरको दैनिकी किबीको हेरचाह, गोडमेल, बजार व्यवस्थापनलगायतमा बित्दै आएको छ । उनको बगानमा लटरम्म पाक्न लागेका ६० क्विन्टल जति किबीे फलेको छ। शिक्षण पेसालाई छाडेर ‘ध्रुव कृषि फार्म’ दर्ता गरी व्यावसायिक किबी खेती थालेका मगरले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गरिरहेको बताए ।

किबी खेतीमा सम्भावना देखेर यो पेसा अपनाएको बताउँदै उनले सुरुमा दोलखाबाट ११० बोट ल्याएर खेती गरेको बताए। कैलाली, डडेल्धुरा, बैतडी, काठमाडौँलगायत जिल्लामा किबी बिक्री हुँदै आएको उनले बताए । किबी खेतीसम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिएको भन्दै मगरले बिबिसी नेपाली सेवामा प्रसारण हुने ‘साझा सवाल’ कार्यक्रममा किबी खेतीबारे छलफल सुनेपछि सुरु गरेको बताए ।

२०७३ मा पहिलो पटक तीन क्विन्टल उत्पादन भएको बताउँदै उनले अहिले वार्षिक ७० देखि ७५ क्विन्टलसम्म उत्पादन हुने गरेको बताए। सुरुका वर्ष प्रतिकिलो पाँच सयका दरले बिक्री गरेको जनाउँदै मगरले पछिल्लो समय बिक्री मूल्य घटे पनि उत्पादन बढी हुन थालेकाले आम्दानीमा वृद्धि भएको बताए ।

पछिल्लो समय ७५ क्विन्टलसम्म उत्पादन भएको बताउँदै मगरले आगामी वर्षदेखि अनुमानित एक सय ५० क्विन्टलसम्म उत्पादन हुने गरी खेती विस्तार गर्न लागेको बताए । हाल बिरुवा र फलबाट वार्षिक १० लाख भन्दा बढी आम्दानी गर्दै आएका मगर आगामी वर्षदेखि आम्दानी वृद्धि हुनेमा ढुक्क छन् ।

६ देखि ८ मिटरको दूरीमा रोपिने किबीलाई अन्य बालीलाई भन्दा कम मेहनत गर्दा पनि पर्याप्त उत्पादन लिन सकिने मगरले बताए । लहरे फलका रूपमा रहेका किबीले लगाएको तीन वर्षदेखि फल्न सुरु भई ५० वर्षसम्म निरन्तर उत्पादन दिने गर्छ । किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीले सेवन गर्नु फाइदाजनक मानिने चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update