Paschim Express
सुदूरपश्चिमका ८६.५ प्रतिशत घरधुरीमा बिजुली, डडेल्धुरामा कति ?

कैलाली । सुदूरपश्चिम प्रदेशका ८६ दशमलव ५ प्रतिशत घरधुरीमा विद्युतीकरण गर्ने काम पुरा भएको छ ।  प्राधिकरणले आगामी २ वर्षभित्रै सतप्रतिशत काम पुरा गर्ने गरी फिल्डमा काम भइरहेको बताएको छ । 

प्रदेशभित्र हाल एक सय ६५ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ । सरकारीस्तरबाट ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना र बाँकी एक सय ३५ मेगावाट निजी क्षेत्रले लगानी गरेको जलविद्युत आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ । प्रदेशभित्र विद्युत उत्पादन बढेसँगै नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण गर्ने काममा तीव्रता दिएको छ ।

सबैभन्दा बढी कञ्चनपुरमा विद्युतीकरण भएको  नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जंगबहादुर चन्दले बताए । उनका अनुसार  कञ्चनपुरमा ९९ दशमलव ९८ प्रतिशत विद्युतीकरणको काम पुरा भइसकेको छ ।  कैलालीमा पनि ९९ दशमलव १२ प्रतिशत घरधुरीको विद्युतीकरण भइसकेको प्राधिकरणको दाबी छ ।

तराईका २ जिल्लासँगै पहाडी ७ जिल्लामा आगामी २ वर्षभित्रै सम्पूर्ण घरधुरीमा विद्युतीकरण भइसक्ने गरी काम भइरहेको छ ।  अहिलेसम्म डडेल्धुरामा ९१ दशमलव शून्य ३ प्रतिशत, बैतडीमा ५७ दशमलव ६ प्रतिशत, डोटीमा ८० दशमलव ४५ प्रतिशत घरधुरीको विद्युतीकरण भइसकेको चन्दले बताए ।

यस्तै अछाममा ६४ दशमलव ४६ प्रतिशत, दार्चुलामा ८९ दशमलव ६४ प्रतिशत, बझाङमा ६६ दशमलव ७४ प्रतिशत र बाजुरामा २९ दशमलव २४ प्रतिशत घरधुरीको विद्युतीकरणमा भइसकेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update