Paschim Express
सुदूरपश्चिममा पहिलोपटक  ‘मेयर सम्मेलन’ गर्दै परशुराम नगरपालिका

डडेल्धुरा । सुदूरपश्चिमको बृहत् विकासका प्राथमिकता, सम्भावना, अवसर र चुनौतीका विषयमा विमर्श गरी आपसी सहयोग आदानप्रदान गर्ने उद्देश्यले डडेल्धुराको परशुराम नगरपालिकामा ‘पहिलो मेयर सम्मेलन’ हुँदै छ ।

यही पुस १५ र १६ गते हुने सम्मेलनमा सुदूरपश्चिमका सबै उपमहानगरपालिका, नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्षहरूको सहभागिता रहने जनाइएको छ । आयोजक परशुरामका नगरप्रमुख भरत बडायर जोशीले स्थानीय तहबीचको समन्वय र सहकार्यमार्फत यहाँको विकास प्रवर्द्धनका लागि सङ्गठित आवाज मुखरित गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको बताए ।

सम्मेलनले प्रमुख सरोकारवाला, विषय विज्ञ, स्थानीय, प्रादेशिकलगायत सरकारी निकायका प्रमुख तथा प्रतिनिधिलाई एकै ठाउँमा राखी सुदूरपश्चिमको बृहत् विकासका लागि सहयोग बढाउन, विकासका नवीन आयामबारे विचार आदानप्रदान र दिगो रणनीतिहरू निर्माण गर्न मञ्च प्रदान गर्ने अपेक्षा गरिएको मेयर जोशीले बताए ।

परशुराम नगरपालिकाका सल्लाहकार तेजराज विष्टले दुई दिने सम्मेलनका विषयवस्तु पहिचान, अतिथि छनोट तथा आमन्त्रण, कार्यक्रम ‘मोडालिटी’ तय गर्नुका साथै समग्र व्यवस्थापनका काम तीव्ररूपमा भइरहेका बताए । उनका अनुसार सम्मेलनका क्रममा युवा उद्यमशीलता, समावेशी विकास र बसाइँसराइ न्यूनीकरणका लागि सामाजिक उद्यमशीलता प्रवर्द्धन, पर्यटन विकास र समुदायलाई लाभ, स्थानीय आवश्यकतामा आधारित योजना र नीति र मार्गदर्शन, स्थानीय उत्पादन पहिचान तथा प्राथमिकीकरण (हरित उत्थानशील कृषि), विपद् व्यवस्थापन (जलवायु परिवर्तन) जस्ता विषयमा विमर्श सत्र आयोजना हुनेछन् ।

“स्थानीय आवश्यकतामा आधारित दिगो र उत्थानशील विकास, उत्पादन र उद्यमशीलताका लागि योजना निर्माण,  सुदूरपश्चिमको बलियो र समृद्ध भविष्य निर्माण गर्न सबै मिलेर काम गर्ने आधार तय गर्न मेयर फोरमलाई थप क्रियाशील बनाउन सम्मेलन आयोजना गर्दै छौँ । यसलाई निरन्तर अभियानकै रूपमा अगाडि बढाउने हाम्रो योजना छ”, सल्लाहकार विष्टले बताए ।

नगरप्रमुख जोशीले सम्मेलनकै अवसरमा परशुराम धामसँग जोडिएको महाकाली नदीमा ‘र्‍याफ्टिङ’ उद्घाटन र सुदूरपश्चिम प्रदेशका प्रत्येक नगरपालिका र गाउँपालिकाका लागि ‘ट्रि गार्ड’सहित ८८ रुद्राक्षका रूख रोप्ने योजनासमेत रहेको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update