डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–१ ढुन्ढुने बजारबाट उद्धार गरिएको चितुवालाई कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पठाइएको छ । डिभिजन वन कार्यालय डडेल्धुराले नियन्त्रणमा राखेको उक्त चितुवालाई प्राथमिक उपचार गरेर कञ्चनपुर पठाएको हो ।
वन कार्यालयका सूचना अधिकारी रणेन्द्र सिंहका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुर र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको उद्दार टोलीले चितुवाकाे प्राथमिक उपचार गरेको थियो । त्यसपछि डार्ट गरेर चितुवालाई उपचार तथा व्यवस्थापनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरमा कार्यरत कर्मचारी र कार्यालयका फरेष्टर ओमबहादुर साउँदमार्फत पठाइएको उनले बताए ।
हिजाे(मंगलबार) अपरान्ह २ बजेको आसपास ढुन्ढुने बजारमा उक्त चितुवा देखिएको थियाे । स्थानीयको सूचनापछि डिभिजन वन कार्यालय डडेल्धुराले स्थानीय र प्रहरीको सहयोगमा चितुवाको उद्वार गरिएको थियो । चितुवा सुस्त अवस्थामा रहेको पाइएकाे थियाे ।
यसैबीच हिजो नै गन्यापधुरा गाउँपालिकास्थित रडुवाखोला क्षेत्रमा पनि चितुवा देखिएको थियो । डोटीको दिपायलबाट फर्किरहेका यात्रु हुकुम डाँगीले उक्त चितुवा नालीमा देखेका थिए । उनले आफूलाई चितुवाले झम्टिएको तर आफू भाग्यवस बाँचेको बताए । ‘बाघ होकी चितुवा हो ठ्याक्कै ठम्याउन समस्या भयो, मलाई जस्तै उसले अर्का यात्रुलाई पनि झम्टेको रहेछ । उनी पनि जाेगिएका रहेछन्’ डाँगीले भने ।
उक्त क्षेत्रमा पनि चितुवा देखिएकाले स्थानीय तथा यात्रुलाई सावधानी अपनाउन वन कार्यालयका सूचना अधिकारी रणेन्द्र सिंहले आग्रह गरेका छन् ।